ई–सिम ल्याउँदै नेपाल टेलिकम

२५ भाद्र २०७८, शुक्रबार ०८:३४

काठमाडौं – सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउने भएको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट बनेको चिप जडित सानो कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने  ई–सिम उपलब्ध गराउने भएको हो ।

यसका लागि नेपाल टेलिकमले आफ्नो आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रममा ‘ई–सिमको प्लेटफर्म’ राखेर योजना कार्यान्वयनमा ल्याउनेछ ।

नेपालमा उक्त ई-सिम कार्यान्वयनमा आए हाल सिम कार्ड किनेर चलाउनुपर्ने बाध्यता हट्ने टेलिकमको दाबी छ । टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउने तयारी रहेकाले सिमकार्ड किनेर चलाउनुपर्ने बाध्यता हट्ने भएको हो ।

विशेषगरी छिमेकी देश भारतमा समेत ई–सिमको प्रचलन शुरू भइसकेको छ । भारतको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक जियोले ई–सिम कार्यान्वयनमा ल्याइसकेको छ ।

के हो ई–सिम ?
ई-सिम मोबाइल फोनमा प्रयोग हुने भर्चुअल सिम हो ।

ई-सिम मुख्य डिभाइसका लागि प्रयोग हुनेछ । उक्त डिभाइसमा सिम कार्डबिनै मोबाइल तथा डिभाइसमा इन्टरनेट तथा फोन गर्न सक्ने व्यवस्था हुनेछ ।

हाल नेपाली बजारमा सिम कार्ड किने मोबाइलको डिभाइसअनुसार सिम कार्डको प्रयोग गर्नुपर्दछ । तर आगामी दिनमा ई–सिम कार्यन्वयन आएमा उक्त सिम कार्ड किनेर हाल्नुपर्ने बाध्यता हट्नेछ ।

ई-सिमको अवधारणा सञ्चालनमा आएमा अहिले सिमकार्ड किन्ने प्रचलनको अन्त्य हुने टेलिकमको भनाइ छ । जसमा डिभाइसमै सम्पूर्णसिमको सेवा सुविधा भएकाले सहज हुनेछ ।

‘ई-सिम प्रयोगमा आएपछि टेलिकमको सेवा प्रदायक कार्यालयमा गएर सिम लिन आवश्यक पर्दैन,’ उनले भने, ‘अबको दिनमा भौतिक रुपमा उपस्थित भई गर्ने कार्यको अन्त्य हुनेछ ।’

ई-सिम कार्ड हरायो, वा बिग्रियो भनेर हुने तनाव समेत नहुने देखिन्छ । ई-सिमले अपरटेर परिवर्तन गर्दा दोस्रो सिम कार्ड लिने झन्झट समेत पर्दैन । टेलिकम सेवा प्रदायक समेत फरक–फरक रहेकाले उनीहरू परिवर्तन गर्न चाहेमा समेत सहजै गर्न सकिने सुविधा रहेको छ ।

आइफोन, सामसुङ, गुगल, मोटोरोला जस्ता स्मार्ट फोनमा ई–सिमको सुविधा रहेको छ । ती कम्पनीको मोबाइलमा ई-सिम सपोर्ट गर्ने विवरणहरू सार्वजनिक भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *