अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोगका लागि राष्ट्र सङ्घको अपिल

काठमाडौँ – संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोगका लागि अपिल गरेको छ । जेनेभामा भएको सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गरिएको हो ।
राष्ट्र सङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी समेत दिएको छ । गएको महिना तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो ।
त्यहाँ तत्कालै खाना, औषधि र सरसफाइ अति आवश्यक रहेको राष्ट्र सङ्घले जनाएको छ । ६० करोड डलर सहयोग जुटाउन सके दशौँ लाख मानिसलाई राहत पुग्ने भनिएको बीबीसीले जनाएको छ। राष्ट्र सङ्घले सहायताकर्मीलाई नरोक्न पनि तालिबानसँग आह्वान गरेको छ ।
साथै अफगानिस्तानमा महिला र बालिकाको अधिकारबारे चिन्ता बढेको छ । संयुक्त राष्ट्र सङ्घकी अधिकार प्रमुख मिसेल बाचेले तालिबानीहरूलाई महिला अधिकार र सम्मानको घोषणाबारे स्मरण गराउनुभएको छ ।