संसद्को दुवै सदनबाट विनियोजन विधेयक पारित, बजेट होलिडे अन्त्य हुँदै

७ आश्विन २०७८, बिहीबार १०:२३

काठमाडौं- बजेटको विनियोजन विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रतिनिधि सभाबाट यसअघि पारित भएको विधेयक बिहीबार राष्ट्रिय सभाबाट पनि पारित भएको हो।

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) गत सोमबार प्रतिनिधि सभाबाट पारित भएको थियो। पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न वर्तमान सरकारले पेस गरेको प्रतिस्थापन विधेयकअन्तर्गतको विनियोजन विधेयक पारित नहुँदा देशमा पहिलोपटक बजेट होलिडे भएको थियो। विनियोजन विधेयक पारित नहुदाँ बजेट होलिडे भएपछि सरकारले यसलाई एमालेको विरोधकै विचमा अघि वढाएको थियो।

साउन ३ गते प्रतिनिधि सभा बैठकमा पेस भएको अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयक पेस भएर पारित नहुँदा बजेटको ७० वर्षे इतिहासमा पहिलो पटक सरकार खर्च गर्न नपाउने भएको थियो। राजश्व संकलन भने २०१२ सालमा जारी भएको एक ऐनमार्फत् सरकारले गरेको थियो।

उक्त विधेयक अब राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि तत्काल लागू हुने छ। देशमा जारी बजेट होलिडे पनि अत्य हुने छ। प्रतिनिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पारित गराएर राष्ट्रपतिले प्रमाणीकरण नगरेसम्म सरकारले खर्च गर्न रोक लागेको थियो।
कानुनतः प्रतिनिनिधि सभाबाट प्राप्त विधेयक राष्ट्रिय सभाले १५ दिनभित्र सुझावसहित पारित गरेर प्रतिनिधि सभामा पठाउनुपर्छ। राष्ट्रिय सभाबाट पारित भएर फिर्ता आएपछि प्रतिनिधि सभामा जानकारी गराउँदै राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइन्छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि औपचारिक रुपमा बजेट कार्यान्वयनमा आउँछ।

राष्ट्रपतिबाट प्रमाणीकरण गराउनेलगायत प्रक्रिया पूरा गर्न कम्ती १–२ दिन लाग्नेछ। दुवै सदनवाट विनियोजन विधेयक पारित भएसँगै अब चालु आर्थिक वर्षका लागि प्रस्तुत बजेट कार्यान्वयनमा आउने निश्चित भएको छ।

बजेट सम्बन्धी अन्य विधेयकहरु पनि प्रतिनिधि सभामा पेस हुँदैछन्। प्रतिनिधि सभाबाट पनि आजै पारित गर्ने तयारी हुँदैछ। ती विधयेक पारित भएर राष्ट्रिय सभामा जाने छन्।

ओली नेतृत्वको पूर्ववर्ती सरकारले प्रतिनिधि सभा विघटन गर्दै अध्यादेशमार्फत् जारी गरेको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक समयमा पारित गर्न नसक्दा सरकार अप्ठ्यारोमा परेको थियो। प्रतिस्थापन विधेयक पारित हुन नसक्दा सरकारले भदौ ३० गते मध्यरातबाट खर्च गर्न नपाउने ‘बजेट होलिडे’को अवस्था आएको थियो। त्यसयता सम्पूर्ण सरकारी खर्च रोकिएको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले सर्वोच्च अदालतबाट पुनःस्थापना भएको प्रतिनिधि सभाको पहिलो बैठक साउन ३ गते राख्दै विश्वासको मत लिएको दिन नै बजेटसम्बन्धी अध्यादेशहरु प्रतिनिधि सभामा पेस गरेको थियो। ती विधेयकहरु भदौ ३० गतेसम्म पारित हुनुपर्नेमा एमाले सांसदहरुको अवरोधका कारण रोकिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds