३८ क्विन्टल सुन तस्करी प्रकरण : मोरङ जिल्ला अदालतमा अन्तिम सुनवाइ सुरु

१० आश्विन २०७८, आईतवार ०८:५०

काठमाडौं– ३८ क्विन्टल सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले आइतबारबाट अन्तिम सुनुवाइ सुरु गरेको छ। सोही मुद्दामा मोरङ उर्लाबारी नगरपालिका ७ का सनम शाक्य हत्या आरोपको मुद्दा पनि रहेको छ। दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ सुरु भएको जिल्ला अदालतले जनाएको छ।

जिल्ला अदालतमा मुख्य न्यायाधीश भरत लम्सालको इजलासमा उक्त मुद्दाको पेसी रहेको छ। तस्करी भएर अबैध रुपमा नेपाल भित्रिएको साढे ३३ केजी सुन खोज्ने क्रममा १८ फागुन २०७४ मा सनम शाक्यको हत्या भएको थियो। उक्त हत्याको अभियुक्तलाई खोज्दै जाँदा सुन तस्करीको सञ्जाल नै फेला परेको थियो। मोरङ प्रहरीले अनुसन्धान गरि १९ वैशाख २०७५ मा त्यसपछि थप तीन पटक मोरङ जिल्ला अदालतमा जम्मा ७७ जनाविरुद्ध दर्ता गराएको थियो।

जिल्ला अदालत मोरङका अनुसार देशकै चर्चित संगठित सुन तस्करी र अपहरण तथा शरिर बन्धक र हत्या आरोपको मुद्दाको अन्तिम सुनवाइका लागि काठमाडौबाट समेत चर्चित कानुन व्यवसायी पुगेका छन्। सरकारको तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्त्ता रामहरि काफ्ले, सहायक जिल्ला न्यायाधिवक्त्ता मनीषबाबु पोखरेल र तेजबहादुर सिँजाली मगरले वहसको तयारी गरेका छन्।

अभियुक्तका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुको वकालतनामा धमाधम आइरहेकाले अहिले कतिले बहस गर्ने एकिन नभएको जिल्ला अदालतले जनाएको छ। आइतबार सरकारी वकिलहरुले अभियुक्तलाई दोषी ठहर हुनुपर्ने जिकिर पेश गर्नेछन्।

सरकारी पक्षको बहस सकिएपछि प्रतिवादीतर्फका अलग अलग कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुको बहसपछि सरकारी वकिलले जवाफ दिँदै फैसला हुनेछ। मुद्दा निरन्तर सुनुवाइ हुने सम्भावना रहेका छ।

मोरङ प्रहरीले सुरुमा मुख्य योजनाकार गोरे भनिने चूडामणि उप्रेतीसहित पहिलो पटक ६३ जना, त्यसपछि थप तीन पटक गरेर जम्मा ७७ जनाविरुद्ध संगठित सुनतस्करी र सनम शाक्य हत्या आरोपमा मुद्दा दर्ता गराएको थियो। हालसम्म आरोपीमध्ये ५५ जना अदालतमा हाजिर भएका छन् भने २२ जना अझै फरार छन्। उनीहरुको हकमा म्याद तामेली हुन नसकेपछि अदालतले अन्तिम सुनुवाइ अघि वढाएको हो।

उक्त विवादमा केही वाहालवाल र पूर्वप्रहरी अधिकृतसमेत तानिएका थिए। तत्काल पुर्पक्षका लागि थुनामा पठाइएका अभियुक्त्त पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल सादा तारेखमा र रामकुमार तिवारी, प्रभात अग्रवाल, विमल पोद्दार, राजेन्द्रकुमार शाक्य, राजकुमार दारुका, मदनप्रसाद घिमिरे, शैयत अक्बर र इम्तियाजलगायत उच्च अदालतबाट धरौटीमा छाडिएका थिए।

यस्तो थियो सुुन तस्करी प्रकरण 
२०७४ मंसिरमा थाई एयरलाइन्सबाट आएको साढे ३३ केजी सुन गायब भएपछि यो प्रकरण सुरु भएको हो। उक्त सुन खोजी गर्ने क्रममा १८ फागुन २०७४ मा सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे) का सहयोगी मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्यको हत्या भएको थियो। उनको अपहरणपछि हत्या गरिएको थियो। शाक्यको शव १९ फागुन २०७४मा स्कोर्पियो जिपभित्र विराटनगर १ पोखरियामा फेला परेको थियो। घटनास्थलबाट टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण कार्की पक्राउ परेका थिए।

उक्त्त हत्यापछि सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेर सुन तस्करीको छानबिन गरेको थियो। छानबिन समितिको प्रतिवेदनको आधारमा नेपाल प्रहरीले विभिन्न चरणमा सरकारी वकिलको कार्यालय मोरङमार्फत जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी निकासी गरी अवैध कारोवार गरेको र मानव अपहरण गरी हत्या गरेको आरोपमा ७७ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो।

सबै अभियुक्त उपर २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म संगठित आपराधिक सन्जाल बनाएर १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम बरावर सुन तस्करी गरेको उक्त प्रतिवेदनमा दावी गरिएको थियो।

उक्त्त मुद्दामा पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल प्रहरी हवल्दार विष्णुबहादुर खड्का र अम्मरबहादुर खड्काविरुद्ध पनि अभियोग रहेको छ। यो विवादमा भएको थुनछेक धरौटी सुनुवाइ निकै विवादित भएको थियो। उच्च अदालतका मुख्य न्यायाधीशदेखि केही न्यायाधीश छानविनमा समेत तानिएका थिए। पछि सर्वोच्च आएर धरौटी र थुनछेकको मुद्दा टुङ्गो लागेको थियो। हाइप्रोफाइल उक्त मुद्दाका कारण केही न्यायाधीशले जागिरसमेत गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *