डलर महँगिंदा नेपाललाई मासिक अर्बौ रुपैयाँ अतिरिक्त भार, विदेशी ऋणको साँवाब्याज भुक्तानीमा समस्या

२६ भाद्र २०७९, आईतवार ०४:४७

नेपालले विभिन्न दातृ निकायसँग लिएको ऋणको साँवाब्याज तिर्दा अतिरिक्त भार पर्न थालेको छ । विदेशी ऋणको साँवाब्याज भुक्तानी डलर लगायत परिवत्र्य विदेशी मुद्रामा गर्नुपर्ने हुँदा डलर महँगिँदा मुलुकलाई अतिरिक्त भार परेको हो ।

नेपालले अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र पाउन्ड स्टर्लिङमा ऋण लिने गरेको छ । यस्तो ऋणको साँवाब्याज विदेशी मुद्रामा नै तिर्नुपर्छ । पछिल्लो समय अमेरिकी डलरलगायत विदेशी मुद्रासँग नेपाली मुद्रा निरन्तर अवमूल्यन हुँदै गएकाले ऋण तिर्दा नेपाललाई भार थपिँदै गएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव दिनेश रेग्मी बताउँछन् ।

‘बाह्य ऋण डलरमा भुक्तानी हुने र डलरको भाउ उच्च हुँदा नेपालले तिर्नुपर्ने ऋणको भार पनि बढेको छ । विनिमय दरले हामीलाई धेरै नै असर गरिरहेको छ,’ उनले भने । विनिमय दरमा भएको वृद्धिको कारण त्रैमासिक रूपमा नेपालले २२ अर्ब ७ करोड रुपैयाँ हाराहारी अतिरिक्त भार बेहोर्नुपरेको उनले बताए ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा ऋणको साँवाब्याज गरी करीब १ खर्ब १७ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गरिएको छ । सो वर्ष ७२ अर्ब ८० करोड रुपैयाँ साँवा र ४४ अर्ब ६१ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको हो ।

गत वर्ष नेपालले ४ करोड १० लाख रुपैयाँ जरीवाना तिर्नुपरेको कार्यालयले जानकारी दिएको छ । तोकिएको समयमा साँवाब्याज भुक्तानी नगरेबापत उक्त जरीवाना तिर्नुपरेको हो ।

त्यसो त, पछिल्लो समय नेपालको सार्वजनिक ऋण बढ्दै गएको छ । ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ । यसमा बाह्य ऋण १० खर्ब २५ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ८६ करोड रुपैयाँभन्दा बढी छ ।

अघिल्लो वर्षसँग तुलना गर्दा गत असार मसान्तको सार्वजनिक ऋण करीब ३ खर्ब रुपैयाँ बढी हो । आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा नेपालको सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब रुपैयाँ थियो । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा अहिलेको सार्वजनिक ऋण ४१ दशमलव ४७ प्रतिशत पुगेको छ । यस्तो अनुपात अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४० दशमलव ७२ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *