प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक कुलमानको नियुक्ति

२७ श्रावण २०७८, बुधबार ०७:५९

 

उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङ फेरि दोस्रो पटक विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई दोस्रो पटक नियुक्ति गरेको हो ।

कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी भदौ ३१ मा प्रधिकरणबाट बाहिरीका घिसीङ आज नियुक्ति पत्र बुझेर सम्भवत आजै सपथग्रहण गर्ने बताइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको पनि मन्त्रालय स्रोतले जनाएको छ  ।

२०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो । र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो । विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हात पारेको जस घिसिङले पाएका थिए ।

२६ प्रतिशत विद्युत् चुहावटको अवस्थालाई घिसिङले चार वर्षमा १५ प्रतिशतमा झारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *