चन्द्रप्रसाद ढकालले गरे महासंघ अध्यक्षको पदबहाली

४ बैशाख २०८०, सोमबार ०५:०७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतवार महासंघ सचिवालयमा पदबहाली गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरे ।

अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजीक्षेत्रबीच साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने र व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजीक्षेत्रको स्थान निर्धारण गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेको जानकारी दिए । सोहीअनुसार आफू र आफ्नो टिमले काम गर्ने उनले बताए ।

निजीक्षेत्रको नेतृत्वदायी पदमा पुग्दा आफूलाई गर्व लागेको भन्दै ढकालले महासंघ साना ठूला सबै उद्योगी व्यवसायीको साझा संस्था भएको बताए । पद बहालीपछि उनले सचिवालयका कर्मचारीलाई सम्बोधन समेत गरे । महासंघ सचिवालय र महासंघ अन्तर्गतका परियोजनाका कर्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रममा उनले आफ्नो कार्यकाल सफल पार्न सचिवालयका कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताए ।

निर्वाचित टिम र सचिवालय एउटै लय र लक्ष्यका साथ हिँड्न सकेमात्र महासंघले उचाइ लिने अध्यक्ष ढकालले बताए । महासंघका कर्मचारीलाई इमानदारी र प्रतिबद्धताका साथ सहयोग गर्न उनले आग्रह गरे । कर्मचारीको वृत्ति विकास, सचिवालयको प्रभावकारी सञ्चालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिने उनले बताए ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले सचिवालयबाट पाएको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । अध्यक्ष ढकाललाई आफ्नो पूर्ण सहयोग रहने विश्वास दिलाउँदै उनले उद्योग व्यवसाय क्षेत्रमा ढकालको लामो अनुभवले महासंघलाई नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds