चाडपर्वलक्षित सहुलियत पसल असोज १ गतेदेखि, दैनिक उपभोग्य वस्तुमा २० प्रतिशतसम्म छुट

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ।

नजिकिँँदै गरेको दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। कम्पनीले दिएको जानकारीअनुसार सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, खसीबोकालगायत खाद्यवस्तु किन्न पाउनेछन्।

खाद्यले यस वर्ष दाल, चामल, चिउरा, आँटा र सनफ्लावार तेलमा बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ तथा भटमासको तेल, मासु र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छूट दिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।

चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने भएकाले पनि चाडपर्वमा उपभोक्ताहरू माझ यसको महत्त्व बढेको कम्पनीले बताएको छ। यस वर्ष कम्पनीले दशैं र तिहारका लागि करीब ३ हजार खसी बोका भित्र्याउने अनुमान गरिएको छ।

कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाह पथ, नक्खु र सूर्यविनायक गरी चार स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ।

कोरोना महामारीको त्रास कायमै रहेकाले भीडभाड कम गर्ने र भौतिक दूरीलाई ध्यानमा राख्दै सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सुपथ मूल्य पसल सञ्चालन गरिने कम्पनीले जनाएको छ। खाद्य कम्पनीले काठमाडौं उपत्यकाभित्र अनलाइन अर्डरमार्फत पनि सामान उपलब्ध गराइरहेको छ।

कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा अन्य दैनिक उपभोग्य वस्तुको उपलब्धता सहज रूपमा भए पनि चिनीको उपलब्धता भने त्यति सहज हुने देखिँदैन। कम्पनीले करीब ८ महीना अघि चाडपर्वका लागि भन्दै १० हजार मेट्रिकटन चिनी खरिदको अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाए पनि उक्त पत्र अर्थ मन्त्रालयमा गएर रोकिएका कारण चिनी खरिद अनुमति स्वीकृत हुन सकेको छैन।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp