१० हजार बोरा मल ३ महिनादेखि अलपत्र

१९ श्रावण २०७९, बिहीबार ०७:५२

देशभरका किसानले रासानिक मलको चरम अभाव भोगिरहँदा आयातकर्ता कम्पनी र कृषि सामग्री कम्पनीको लापरबाहीले ९ हजार ९७० बोरा युरिया मल अलपत्र परेको छ। देशको उत्तरी नाका तातोपानीमा ३ महिनादेखि करिब १० हजार बोरा युरिया मल अलपत्र अवस्थामा रहेको हो ।

सरकारी अनुदानको मल खरीद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले आह्वान गरेको ठेक्का पाएका दुई कम्पनी सिल्क र सिनोभ्याकले चीनबाट किनेर ल्याउन ढिलाइ गरेपछि समस्या शुरू भएको थियो । सम्झौताबमोजिम १ सय २० दिनभित्र मल कृषि सामग्री कम्पनीलाई जिम्मा लगाई सक्नुपर्ने थियो । तर, उक्त समयभित्र ती दुई कम्पनीले मल ल्याउन सकेनन् । त्यसपछि कृषि सामग्रीले २१ दिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै जारी गरेको सूचनालाई समेत सिल्क र सिनोभ्याकले बेवास्ता गरे । त्यसपछि कृषिले दुवै कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गर्‍यो ।

अदालतमा मुद्दा चलिरहँदा तातोपानी नाकामा मल आइपुग्यो तर आयातकर्ता कम्पनीले मल आइपुगेको जानकारी गराए पनि कृषिले बुझ्न मानेन । भन्सारबाट मल भित्र्याउँदा गर्नुपर्ने गुणस्तर परीक्षणका लागि कृषि सामग्रीले विज्ञसहितको सर्वेयर टोली पठाउनुपर्नेमा त्यो पनि गरेन । यो हानाथापले गर्दा लामो प्रक्रिया पूरा गरेर भन्सार आइपुगेको मल कुहिने अवस्था आएको छ भने देशभरका किसानहरुलाई मलको चरम अभाव भोग्नुपरेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *