छुट्नु भयो कि? एचआईडीसीएलको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआईडीसीएल को सतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज भदौ ८ गते अन्तिम रहेको छ। गत साउन ५ गतेबाट कम्पनीले आफ्ना सेयरधनीका लागि १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीका लागि जारी गरेको छ। यो हकप्रदमा यसअघि साउन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। तर पछि कोभिड महामारीबाट उत्पन्न असहज परिस्थिति र हालसम्म प्राप्त दरखास्तलाई मध्यनजर गरी यो हकप्रदमा भदौ ८ गतेसम्म आवेदन दिने म्याद थपिएको थियो। त्यसैले आज बैंकिङ समयसम्म यो हकप्रदमा आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
