आठ कप्तान, आठ अनुभव : कसले जिते उपाधि, कसले बनाए व्यक्तिगत कीर्तिमान ?

Heading2 BusinessSarokar | ६ फागुन २०८२, मङ्गलबार

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव बटुलेका छन् । कसैले आफ्नो नेतृत्वमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए भने कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्‍याए । केही कप्तानले टोलीलाई प्लेअफसम्म पुर्‍याउँदा केहीका लागि प्रतियोगिता अपेक्षाअनुसार हुन सकेन ।

तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जित्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र व्यक्तिगत प्रदर्शन दुवै उत्कृष्ट रह्यो । शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलोपटक एनपिएल उपाधि जितेको हो ।

टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका ऐरीले प्रतियोगितामा १० खेलबाट २१७ रन बनाए भने बलिङतर्फ सात विकेट लिए । कप्तानीसँगै ब्याटिङ र बलिङमा समेत प्रभाव जमाएका उनी यस संस्करणका सफल कप्तान बने ।

उपविजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पनि आफ्नो नेतृत्व क्षमता प्रमाणित गरे । उनको कप्तानीमा लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्न सफल भयो । रोहितले आठ खेलमा १५१ रन बनाउनुका साथै चार विकेट लिए । अघिल्लो संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार जितेका उनले यसपटक पनि आफ्नो प्रभाव कायम राखे ।

काठमाडौं गोर्खाजका कप्तान करण केसीका लागि पनि यो संस्करण सुखद रह्यो । उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनायो । करणले आठ खेलमा १० विकेट लिनुका साथै ब्याटिङबाट ९० रन जोडे ।

चितवन राइनोजको नेतृत्व जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर रजाले गरेका थिए । उनको कप्तानीमा चितवन प्लेअफसम्म पुग्न सफल भए पनि व्यक्तिगत प्रदर्शन भने अपेक्षाअनुसार रहन सकेन । रजाले पाँच खेलमा ५६ रन बनाउँदा बलिङतर्फ पाँच विकेट लिए ।

कर्णाली याक्सले प्रतियोगिताकै बीचमा कप्तान परिवर्तन गरेको थियो । सुरुआती खेलमा सोमपाल कामीले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्त्यतिर डेविड मिलरलाई कप्तानीको जिम्मेवारी दिइएको थियो ।

सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाए । बलिङमा उनले १० विकेट लिए । यता, पहिलोपटक एनपिएल खेलेका मिलरले चार खेलमा एक अर्धशतकसहित ११० रन जोडे । यस संस्करणमा उनको उच्च स्कोर अविजित ९३ रन रह्यो ।

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि भने तेस्रो संस्करण अपेक्षाकृत सफल हुन सकेन । उनको नेतृत्वमा विराटनगरले प्लेअफमा स्थान बनाउन सकेन ।

पोखरा एभेन्जर्सले पनि खराब प्रदर्शनपछि प्रतियोगिताकै बीचमा कप्तान परिवर्तन गर्‍यो । सुरुआती खेलमा कुशल भुर्तेलले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्त्यतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो ।

कप्तान परिवर्तन भए पनि कुशलको व्यक्तिगत प्रदर्शन भने प्रभावशाली रह्यो । उनले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाउनुका साथै बलिङमा छ विकेट लिए । नयाँ कप्तान करुणारत्नले छ खेलमा ८५ रन बनाउँदा चार विकेट हात पारे ।

जनकपुर बोल्ट्सका कप्तान अमेरिकी अलराउन्डर हरमित सिंहका लागि भने यो संस्करण टोली र व्यक्तिगत दुवै दृष्टिले चुनौतीपूर्ण रह्यो । उनको नेतृत्वमा जनकपुर अंक तालिकाको पुछारमा रह्यो । यद्यपि, व्यक्तिगत प्रदर्शनमा हरमितले आफ्नो क्षमता देखाए । उनले सात खेलमा ११ विकेट लिनुका साथै ब्याटिङमा ९० रन जोडे ।

यसरी एनपिएलको तेस्रो संस्करणमा कप्तानहरूको प्रदर्शन मिश्रित रह्यो । दीपेन्द्रले उपाधि जिताएर नेतृत्वको छाप छाड्दा रोहितले लगातार दोस्रोपटक टोलीलाई फाइनलसम्म पुर्‍याए । अन्य कप्तानका लागि भने व्यक्तिगत सफलता र टोलीको नतिजाबीच फरक अनुभव रह्यो ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp