नेपाल लाईफ इन्स्योरेन्सले सेयरधनीलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको ३११ औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रु. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।
जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब रू. ५ अर्ब ५० करोड रहेको चुक्तापूँजी लाभांश वितरण पश्चात रु. ७ अर्ब १९ करोड हुनेछ भने लगानी रू. १०४ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्त सम्ममा जम्मा रू. १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ६७ हजार ५ सय ६५ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २८ लाख २० हजार १ सय ९६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।


सम्बन्धित खबर
प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर आजदेखि लिलामीमा
१९ मंसिर २०८२, बिहीबार
सरकारले बीमा गराएर जनतालाई झुक्यायो, २१ अर्ब ७६ करोड बीमा दाबी भएन भुक्तानी
१९ मंसिर २०८२, बिहीबार
सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ प्रतियोगि सहित निर्णायकहरु दुर्घटना बीमा गर्ने
१९ मंसिर २०८२, बिहीबार
