२३ अंकले घट्यो नेप्से, साढे ३ अर्बको कारोबार

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं- साताको दोस्रो कारोबार दिन पनि सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। आज पुँजीबजार मापक परिसूचक (नेप्से) २३.१९ अंकले घटेर २६३९.३८ विन्दुमा ओर्लिएको छ।

आज तीन अर्ब ६३ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले जानकारी दिएको छ।

आज कूल १८६ वटा कम्पनीका ९३ लाख १४ हजार ७८० कित्ता सेयर जम्मा ४४ हजार ४६२ पटक खरिद-बिक्री भएका थिए। कारोबार भएकामध्ये ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटाको नकारात्मक बनेको थियो भने ११ कम्पनीको मूल्य यथावत् रहेको थियो।

आज सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरे प्रतिकित्ता ७.८८ प्रतिशतका दरले कमाएका छन्। यता महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.७६ प्रतिशतका दरले गुमाएका छन्।

आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.५६ अंकले घटेर ४९४.२२ विन्दुमा ओर्लिएको छ। लगानी र म्युचुअल फण्डबाहेक सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।

आज नबिल बैंकको सेयर सबैभन्दा धेरै १७ करोड १३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको सेयर सबैभन्दा धेरै दुई लाख ८४ हजार ८२९ कित्ता र सोही बैंकको सेयर सबैभन्दा धेरै दुई हजार ६४९ पटक किनबेच भएका थिए।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp