Banking Khabar
Heading1

बढ्यो व्यापार घाटा : ४ खर्ब ७८ अर्बको आयात गर्दा ६५ अर्बको निर्यात

October 26, 2021
सेयर:

काठमाडौं– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास साउन–भदौ–असोज) मा  नेपालको वैदेशिक व्यापार ५ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा नेपालले नेपालले १३२ देशबाट ४ खर्ब ७८ अर्ब ५२ को वस्तु तथा सामग्री आयात गरेको छ। सोही अवधिमा नेपालबाट भने ६५ अर्ब ५ करोडको वस्तु तथा सेवा निर्यात भएको छ।

भन्सार विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार पहिलो ३ महिनामा वैदेशिक व्यापारमा गत वर्षको तुलनामा वद्धि भएको छ। कुल वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बढेको छ।
तथ्यांक अनुसार नेपालको निर्यातसमेत वृद्धि भएको छ। नेपालबाट चालू आवको यस अवधिमा ६५ अर्ब ५ करोडको वस्तु तथा सेवा निर्यात भएको छ। गत वर्ष सोही अवधिमा नेपालले ३१ अर्ब ४ करोडका वस्तु निर्यात गरेको थियो।

समीक्षा अवधिमा व्यापार घाटा ५८ प्रतिशतले बढेको छ। विभागको तथ्यांकअनुसार चालू आवको पहिलो त्रैमासको व्यापार घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। गत आवको यही अवधिमा यस्तो घाटा २ खर्ब ६१ अर्ब थियो। चालू आवको ३ महिनामा नेपालबाट २२ अर्ब २ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ भने ४ अर्ब ८५ करोडको पाम तेल निर्यात भएको छ।

चालू आवको प्रथम त्रैमासमा २ अर्ब ४५ करोड मूल्यका कार्पेट, टेक्स्टायल जस्ता वस्तुहरूको निर्यात भएको छ।
नेपालले यो अवधिमा पेट्रोलियम पदार्थ, स्टील, मेसिनरी पार्टपुर्जा बढी आयात गरेको छ। चालू आवको असोजसम्ममा १२ अर्ब ८६ करोड मूल्यको पेट्रोल र २३ अर्ब ३२ करोड रुपैयाँको डिजेल नेपालले आयात गरेको छ।  १७ अर्ब रुपैयाँको खाद्य वस्तु आयात गरेको छ।

चालू आवको पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार रू. १ खर्ब ७१ करोड मूल्य बराबर रहेको थियो। त्यस अवधिमा नेपालले रू. २० अर्ब ७६ करोडका वस्तुहरू निर्यात गरेको थियो भने १ खर्ब ५० अर्ब रुपैयाँको आयात गरेको थियो

भदौ महिनामै कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब पुगेको थियो । भदौमा नेपालको निर्यात ४४ अर्ब ३ करोड पुगेको थियो । गत आवको तुलनामा यो चालू आवमा नेपालको निर्यात अवस्थामा सुधार देखिएको छ।