नेपालको लगानी वातावरण दक्षिण एसियामा पाकिस्तानपछि सबैभन्दा खराब
काठमाडौँ — नेपालमा लगानीको वातावरण दक्षिण एसियामै खराब देखिएको छ । संयूक्त राष्ट्रसंघ (युएन) ले सार्वजनिक गरेको ‘एसिया प्यासिफिक ट्रेड एन्ड इन्भेस्टमेन्ट रिपोर्ट–२०२१’ अनुसार दक्षिण एसिया क्षेत्रमा पाकिस्तानपछि नेपालको लगानी वातावरण सबैभन्दा खराब रहेको उल्लेख छ ।
संयूक्त राष्ट्रसंघअन्तर्गतका निकायहरु संयूक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रम (युएनईपी), एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (इएससीएपी) र युनाइटेड नेसन्स कन्फ्रेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट (युएनसीटीएडी) ले संयूक्त रुपमा सार्वजनिक गरेको यो प्रतिवेदनअनुसार दक्षिण एसिया नै लगानी र व्यापारका लागि अरु क्षेत्रभन्दा खराब अवस्थामा रहेको उल्लेख छ । दक्षिण एसियाली क्षेत्रको औसत लगानी तथा व्यापार सम्बन्धी सूचकको अंक ४६.४८ बराबर छ । ‘क्लाइमेट–स्मार्ट ट्रेड एन्ड इन्भेस्टमेन्ट इन्डेक्स स्कोर’ नाम दिइएको यो सूचक पूर्वी एसियाको तुलनामा निकै कम हो ।
दक्षिण एसियाली देशहरुमा क्रमश: भारत, श्रीलंका र बंगलादेशको लगानी तथा व्यापार वातावरण राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि कुनैपनि देशले ५० भन्दा बढी अंक भने पाएका छैनन् । त्यस्तै, व्यापार सहजीकरणमा पनि नेपाल दक्षिण एसियामा अफगानस्तान र भुटानभन्दा मात्रै अघि छ । नेपालको करका दरहरु निकै महंगो रहेको प्रतिवेदनमा उल्लेख छ । एसियामा पाकिस्तान, कम्बोडिया र बंगलादेशपछि नेपालमा महागो कर रहेको प्रतिवेदनमा जनाइएको छ । सिंगापुर, जापान, टर्कीलगायत देशहरुमा करका दर सबैभन्दा न्यून रहेको देखिन्छ । जसकारण ती देशहरुमा व्यापार र लगानीको प्रतिफल लिन बढी सजिलो रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
नवीकरण ऊर्जाको प्रयोग र औद्योगिक ऊर्जाका लागि कार्बन उत्सर्जन कम गर्ने देशहरुको सूचीमा भने नेपाल पहिलो नम्बरमा छ । ऊर्जा उत्पादनका लागि कोइलाको प्रयोग गर्ने देशहरुमा भारत, चीन र कजाखस्तान क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन भने नेपाल पुछारमा छ ।
सम्बन्धित खबर
निर्वाचन आयोगद्धारा निर्वाचन कार्यतालिका स्वीकृति, असोज २३ मा उम्मेदवारी दर्ता
जेनजी आन्दोलनमा मालपोत अभिलेख जलेपछि श्रेस्ता कायममा झन्झट, ११ थरी कागजात माग
नेपाल राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष कर्जा सीमा १ करोडमा बढायो
