मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा मंगलबारदेखि पुनः पानी पठाइने भएको छ।
मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोली सुरूङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने भएको हो।
असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो।
मेलम्ची खानेपानी आयोजनाको उद्घाटनमा आज प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरी सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो।
तर निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा जान नपाएको खानेपानी मन्त्रालयले जनाएको छ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले आयोजनाको पुनः उद्घटना गर्ने भएका छन्।
Euro
मन्त्रालयले मेलम्चीको अम्बाथानस्थित अडिटमा पुगेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएको छ। अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना थियो।
गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो।
मंगलबार अम्बाथानबाट सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए।
‘सुन्दरीजलमा ट्रिटमेन्ट भएर काठमाडौंका धारामा आइपुग्न एक-दुई दिन लाग्ला,’ आचार्यले सेतोपाटीसँग भने।
अम्बाथान पुग्नुअघि प्रधानमन्त्री देउवा र मन्त्री चौधरी सुन्दरीजल जाने कार्यक्रम थियो। त्यहाँ सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो।
भट्टराईको प्रधानमन्त्रीकालमा २०४८ सालमा मेलम्चीको पानी काठमाडौं ल्याउने अवधारणा आएकाले सरकारले सुन्दरीजलमा उनको शालिक बनाउने भएको हो।
त्यसपछि देउवा र चौधरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, खानेपानी मन्त्रालयका सचिवलगायतको टोली अम्बाथान पुग्ने कार्यक्रम राखिएको थियो।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले अनुसार अस्थायी रूपमा पानी ल्याउनका लागि सबै संरचना तयार भएको बताए।
अम्बाथान अडिटमा जम्मा भएको थेग्रिनी सफा गर्ने काम सकिएपछि मन्त्रालयले त्यहीँ उद्घाटनको कार्यक्रम राखेको छ।
मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएका छन्।
आयोजनाले कफरड्याम पनि अस्थायी नै बनाएको छ। चुनाव नजिकिएका कारण मेलम्चीको पानी अस्थायी रूपमा भए पनि काठमाडौं झार्नैपर्ने दबाबमा सरकार थियो।
गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो। बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो।
गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो।
सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।
मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिनी छ। त्यो थेग्रिनी वर्षाका क्रममा बगिरहने भएकाले नियन्त्रणको दीर्घकालीन उपाय खोज्नुपर्ने भएको छ।
मेलम्चीको माथिल्लो भागको भौगर्भिक अध्ययन गर्न विज्ञ टोली खटिएको थियो। एसियाली विकास बैंकको समन्वयमा टोलीले भौगर्भिक अध्ययन गरिसकेको छ।