पालिकाकै लगानीमा ८ पक्की पुल

Heading1 BusinessSarokar | २७ मंसिर २०८२, शुक्रबार

सोलुखुम्बु — विकासका लागि स्थानीय तहले संघ र प्रदेशको मुख ताक्ने परिपाटी रहेका बेला सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्डले ५ बर्ष अवधिमा भौतिक विकासमा उल्लेख्य प्रगति गरेको छ । उक्त नगरपालिकाले इच्छाशक्ति भएमा आफ्नै बजेटले काम गरेर देखाउन सकिने उदाहरण पेस गरेको छ । ११ वडा रहेको सदरमुकामस्थित नगरपालिकाले अहिलेसम्म ८ वटा मोटेरबल पुल निर्माण गरिसकेको छ ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले १ करोड १६ लाखमा निर्माण गरेको तामा खानी पुल । तस्बिर : भानुभक्त/कान्तिपुर

पहिलो आर्थिक वर्षदेखि नै सडक र पुललाई प्राथमिकता दिएको उसले हालसम्म पालिकाभित्रका मुख्य मार्गहरूमा पक्की पुल निर्माण गरिसकेको छ । संघ तथा प्रदेश सरकारबाट सुनुवाइ नभएपछि नगरपालिकाले आफ्नै बजेटमा रकम विनियोजन गरेर ५ वबर्ष नबित्दै ८ वटा पक्की पुल निर्माण गरेको नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए ।

४ करोड ६६ लाखमा सोलु खोला पुल, ३ करोड ६५ लाखमा चट्याङघाट पुल, १ करोड ४० लाखमा बेनीखोला पुल, १ करोड १६ लाखमा तामा खानी पुल, १ करोड १५ लाखमा सोलनासा पुल निर्माणपछि गाडी चल्न सुरु गरिसकेको छ । त्यस्तै ४३ लाखमा सालाबेसी मोटरेबल बेलिब्रिज, ३५ लाखमा हेवाखोला मोटरेबल बेलिब्रिज र ३५ लाखकै लागतमा दिमिल बेलिब्रिज निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

‘माथिल्लो निकायको मुख ताक्दा केही नभएपछि आफ्नै बनायौं,’ नगरप्रमुख शेर्पाले भने । जनप्रतिनिधिले पद बहाली गरेदेखि अहिलेसम्मको अवधिमा ३ सय ३० किलोमिटर सडकको ट्र्याक खनेको छ । त्यस्तै १ सय किलोमिटर सडक ग्राभेल गरेको छ । सडक निर्माणमा नगरपालिकाले उपभोक्ता समिति पनि गठन गरेन भने ठेक्का पनि लगाएन । विकासको नयाँ शैली अपनाएर पालिका आफैंले यति धेरै सडक खनेको हो ।

नगरपालिकाले सडक खन्नका लागि सुरुमै एक्स्काभेटर, ब्याकुलोडर, रोलर र ट्रिपर खरिद गरेर काम गरेको हो । ‘५ वर्षमा हामीले नगरपालिकाकै डोजर टोलमा पठाएर बाटो ट्र्याक खनेका हौं, डोजरमा तेल हाल्ने र अपरेटर खर्चबाहेक अन्यत्र एक रुपैयाँ पनि खर्च नगरी बाटो खनेका छौं,’ नगरप्रमुख शेर्पाले भने । उनका अनुसार अब नगरपालिकाको कुनै पनि टोल र बस्तीमा बाटो पुग्न बाँकी छैन । अहिले नगरपालिकाले बनाएका ८० प्रतिशत सडक १२ महिना नै चल्ने नगरप्रमुख शेर्पाले बताए ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp