फेरी बैंकमै फर्किन थाल्यो निक्षेप, कर्जा विस्तार धेरै हुँदा सीडी रेसियोमा भने दबाब

१६ भाद्र २०७९, बिहीबार ०४:५९

चालू आर्थिक वर्षको शुरूदेखि बैंकबाट बाहिरिएको निक्षेप पुनः बैंकिङ प्रणालीमा फर्किन थालेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चालू आर्थिक वर्षको भदौ पहिलो सातासम्म वाणिज्य बैंकको निक्षेप लगातार घटेको थियो । भदौ दोस्रो साता भने बैंकहरूको निक्षेपमा थोरै सुधार देखिएको छ ।

असार मसान्तमा वाणिज्य बैंकहरूमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ ३ गतेसम्ममा १ खर्ब १६ अर्ब रुपैयाँले घटेर ४४ खर्ब २५ अर्ब रुपैयाँ कायम भएको थियो । भदौ ३ देखि १० गतेसम्ममा भने वाणिज्य बैंकहरूको निक्षेप ५१ करोड रुपैयाँले बढेको संघले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकका डा. गुणाकर भट्ट आर्थिक वर्षको अन्त्यमा सरकारले निर्माण व्यवसायीलाई गरेको भुक्तानीका कारण साउनमा निक्षेप घटेको र उक्त रकम विस्तारै बजारबाट बैंकिङ प्रणालीमा फर्किन थालेको बताउँछन् ।

नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरूले कर्जा लगानी गर्न थालेका छन् । साउनको पहिलो र दोस्रो साता वाणिज्य बैंकहरूको कर्जा प्रवाह घटाए पनि तेस्रो सातादेखि बढ्न थालेको छ ।

साउनमा ११ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका बैंकहरूले भदौ पहिलो साता १ अर्ब ७३ करोड र दोस्रो साता १ अर्ब ३० करोड रुपैयाँ लगानी गरेका छन् ।

बैंकहरूले निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार धेरै गरेपछि बैंकहरूलाई कर्जा–निक्षेप (सीडी) अनुपातमा भने दबाब बढिरहेको छ । संघका अनुसार भदौ १० गते वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ८८ दशमलव ४२ प्रतिशत छ । साउनमा तीनओटा बैंकको सीडी रेसियो रेसियो ९० प्रतिशतभन्दा माथि र त्यसबाहेक अधिकांशको ९० प्रतिशत हाराहारीमै छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार साउनदेखि बैंकहरूले सीडी रेसियो दैनिक रूपमा तोकिएको सीमा ९० प्रतिशतभित्र कायम गर्नुपर्छ । उक्त अनुपात कायम गर्न नसक्ने बैंकहरूलाई बढी भएको रकममा हर्जाना लगाउने व्यवस्था छ ।

राष्ट्र बैंकको तथ्यांकले पनि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सुधार देखाउँछ । केन्द्रीय बैंकका अनुसार आइतवारसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ५० खर्ब ३० अर्ब रुपैयाँ निक्षेप छ । उक्त मितिसम्ममा उनीहरूले ४७ खर्ब ४ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

बैंकहरूको औसत सीडी रेसियो ८८ दशमलव २५ प्रतिशत छ । यसैगरी बैंकहरूको अन्तरबैंक कारोबारको ब्याजदर भने ८ दशमलव ५ प्रतिशत पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *