उपभोग्य वस्तुदेखि कच्चा पदार्थसम्मको आयात खस्कियो
बजारमा छाएको मन्दीको असर आयातनिर्यात परिमाणका हिसाबले सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारको आयात (Import)मा स्पष्टरूपमा देखिएको छ । यो नाकाबाट भित्रिने अधिकांश मुख्य वस्तुको आयात खस्किएको छ ।
वीरगञ्ज भन्सारको तथ्यांकले प्रमुख २० मध्ये १७ वस्तुको आयात घटेको देखाउँछ । कोरोना महामारीयता देखिएको व्यापार मन्दीको असर भन्सार भित्रिने मालसामानमा देखिएको सम्बद्ध अधिकारी बताउँछन् ।
विगतमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ (Petrolium), सवारीसाधन र औद्योगिक कच्चा पदार्थको आयात उल्लेख्य घटेको वीरगञ्ज भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । ‘आन्तरिक बजारमा खपत हुने वस्तु र निकासीयोग्य उत्पादनको कच्चा पदार्थ सबैको आयात घटेको छ । यस्तो अवस्था त कहिल्यै देखिएको थिएन,’ उनले भने ।
भन्सारका अनुसार आयात सूचीको एक नम्बरमा रहेको डिजेल (Diesel)को आयात चालू आर्थिक वर्ष (आव) २०७९÷८० को साउनदेखि फागुनसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले घटेको छ ।
त्यस्तै पेट्रोल आयात १० प्रतिशतले घटेको छ । हवाई इन्धन आयातमा ७७ प्रतिशतले कमी आएको भन्सारको तथ्यांकले देखाएको छ ।
आन्तरिक बजारमा मागको कमी, निर्माण व्यवसायमा आएको शिथिलता र त्यसको प्रभावबाट निर्माण सामग्रीका उद्योग कम क्षमता चल्दा इन्धनको खपत घटेको उद्यमी राजेश क्याल बताउँछन् । निर्माण सामग्री उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ एमएस स्टील स्ट्रिप र बिलेटको आयात पनि क्रमश: ९३ र ७० प्रतिशतले घटेको भन्सारको तथ्यांकले देखाएको छ । सिमेन्ट (Cement) उद्योगले खपत गर्ने कोइला आयातमा करीब ६० प्रतिशतले कमी आएको छ ।
निर्माण कार्यमा प्रयोग हुने डोजर, ग्रेडरको आयात ६४ प्रतिशतले घटेको छ । औद्योगिक उपकरणको आयात पनि खस्किएको देखिन्छ । यस्तो आयात १२ प्रतिशतले घटेको छ ।
भटमासको कच्चा तेल ९२ प्रतिशतले र पाम तेल ६२ प्रतिशतले घटेको छ । सूर्यमुखी अर्धप्रशोधित तेल आयात ५७ प्रतिशतले घटेको छ । विगतमा अर्धप्रशोधित तेल भित्र्याएर भारत निकासी गर्दै आएका उद्योगको निकासी अहिले करीब ठप्प छ । भारतले तेलमा शून्य भन्सारको नीति लिएपछि भन्सार दर अन्तरको फाइदा उठाएर भइरहेको निर्यात ठप्प हुन पुगेको हो ।
जीप, कार, भ्यानको आयातमा ८४ प्रतिशतले कमी आएको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब कम गर्न आयात रोकेको थियो । पछिल्लो समय आयात प्रतिबन्ध हटाए पनि माग नभएका कारण आयात हुन नसकेको व्यापारी बताउँछन् ।