इरानबारे ट्रम्पको चेतावनी : ‘ध्वस्त पार्ने, आर्थिक दबाब दिने वा सम्झौता गर्ने’
२१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबारे अमेरिकासामु सैन्य कारबाही, आर्थिक दबाब र सम्झौता गरी तीन विकल्प रहेको बताएका छन् ।
फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले इरानलाई ध्वस्त पार्ने, आर्थिक रूपमा कमजोर हुँदै जान दिने वा सम्झौता गर्ने विकल्पबारे आफूले निर्णय गरिरहेको बताएका हुन् । उनले आफू ‘निर्णयको चरणमा’ रहेको र आगामी दिनमा इरानसँग सम्बन्धित महत्वपूर्ण घटनाक्रम हुनसक्ने संकेत गरेका छन्।
ट्रम्पले इरानले आफ्नो व्यवहार सुधार्नुपर्ने चेतावनीसमेत दिएका छन् । उनले इरानको सम्पूर्ण भूभागलाई ध्वस्त पार्ने सम्भावनाबारे समेत कडा अभिव्यक्ति दिएका छन् ।
यद्यपि, ट्रम्पले कूटनीतिक विकल्पलाई भने खुला राखेका छन् । संयुक्त राष्ट्रसंघको महासभाका लागि इरानी राष्ट्रपति मसुद पेजेस्कियान पनि न्यूयोर्क आउने क्रममा रहेकाले उनीसँग भेटवार्ता गर्न आफू सम्भावित रूपमा तयार रहेको ट्रम्पले बताएका छन् ।
यसैबीच, मध्यपूर्वमा अमेरिकी नागरिकलाई सुरक्षा सतर्कता जारी गरिए पनि हालको सप्ताहान्त अन्य समयभन्दा फरक नरहेको ट्रम्पको भनाइ छ ।
अन्तर्वार्ताका क्रममा ट्रम्पले यमनका हुथी समूहसँग अमेरिकाले निरन्तर सम्पर्क गरिरहेको दाबी गर्दै उनीहरूले अमेरिकाविरुद्ध लडाइँ नगर्ने सहमति जनाएको बताएका छन् । पछिल्लो समय हुथी समूहसँग जोडिएको क्षेत्रीय तनाव र साउदी अरबसँगको द्वन्द्वले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ।
इरान र अमेरिकाबीचको तनावका बीच इरानी पक्षले नयाँ अमेरिकी सैन्य आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । यससँगै आगामी संयुक्त राष्ट्रसंघ महासभाका क्रममा ट्रम्प र पेजेस्कियानबीच सम्भावित भेटवार्तालाई समेत चासोका साथ हेरिएको छ।
