नेपालसँग २१.८ महिनाको वस्तु आयात धान्ने विदेशी मुद्रा

Heading2 BusinessSarokar | ३ पुष २०८२, बुधबार

७ असोज, काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति एक महिनामै १ दशमलव २ प्रतिशतले बढेर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको आर्थिक तथा वित्तीय विवरणअनुसार साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो। असार मसान्तमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरमा भने विदेशी विनिमय सञ्चिति २ दशमलव १ प्रतिशतले बढेको छ। असार मसान्तमा २५ अर्ब ३१ करोड अमेरिकी डलर रहेको सञ्चिति साउन मसान्तमा बढेर २५ अर्ब ८४ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति १ दशमलव ३ प्रतिशतले बढेर ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा राष्ट्र बैंकसँग ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ सञ्चिति थियो।

त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ० दशमलव ९ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो सञ्चिति ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ थियो।

साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ दशमलव ८ प्रतिशत रहेको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव ८ महिनाको वस्तु आयात धान्न पर्याप्त हुने देखिएको छ। त्यस्तै, विद्यमान सञ्चितिले १८ दशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको छ।

साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ५९ दशमलव ८ प्रतिशत, १५७ प्रतिशत र ४४ दशमलव ५ प्रतिशत रहेको छ।

असार मसान्तमा यी अनुपात क्रमशः ५९ दशमलव १ प्रतिशत, १६३ दशमलव ४ प्रतिशत र ४३ दशमलव ८ प्रतिशत रहेका थिए।

एक महिनाको अवधिमा विदेशी विनिमय सञ्चितिको जीडीपीसँगको अनुपात ० दशमलव ७ प्रतिशत बिन्दुले बढेको छ। विस्तृत मुद्राप्रदायसँगको अनुपात पनि ० दशमलव ७ प्रतिशत बिन्दुले बढेको छ भने कुल आयातसँगको अनुपात ६ दशमलव ४ प्रतिशत बिन्दुले घटेको राष्ट्र बैंकले जनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp