अर्थमन्त्री वाग्ले एआईआईबी बैठक सकेर स्वदेश फर्किए, नेपाल उपसभापतिमा निर्वाचित

Heading1 BusinessSarokar | १० पुष २०८२, बुधबार

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।

कतार एयरवेजको जहाजमार्फत उनी आज बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका हुन् । कतारको राजधानी दोहामा भएको एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन उनी असोज १० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

बैठकले एआईआईबीको गभर्नर परिषद्का गभर्नरसमेत रहेका अर्थमन्त्री वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको छ । क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाल पहिलोपटक एआईआईबीको उपसभापतिमा निर्वाचित भएको हो ।

बैठकका क्रममा गभर्नर बिजनेस राउन्ड टेबलमा बोल्दै वाग्लेले पूर्वाधारमार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिको प्रमुख स्रोत रहेको बताएका थिए । उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका प्रमुख साधनमा लगानी बढाउनुपर्ने धारणा राखेका थिए ।

नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउने तथा स्वदेशी र विदेशी निजी पुँजी आकर्षित हुने गरी वित्तीय स्रोत उपलब्ध गराउनुपर्नेमा पनि उनले जोड दिएका थिए ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्ष तथा कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगलगायत विषयमा छलफल गरेका थिए ।

नेपाल एआईआईबीको उपसभापतिमा निर्वाचित भएपछि महत्वपूर्ण पूर्वाधार विकासमा बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य मुलुकबीचको सहकार्य थप अघि बढ्ने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp