असोजभित्रै मार्जिन लेन्डिङ लागू गर्ने सेबोनको तयारी

Heading2 BusinessSarokar | २२ पुष २०८२, सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारको आधुनिकीकरणका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्राविधिक तथा संस्थागत पुनर्संरचना र मार्जिन लेन्डिङ कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ ।

स्टक ब्रोकर एशोसिएशन अफ नेपालले आयोजना गरेको दसैँ, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सेबोनका अध्यक्ष डा. गोपाल भट्टले पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउन दुईवटा नयाँ ऐनको मस्यौदा तयार पारिएको जानकारी दिए । ती मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको उनले बताए ।

उनका अनुसार एउटा ऐनले पुँजी बजारका पूर्वाधार, ब्रोकर, मर्चेन्ट बैंकिङ, म्युचुअल फन्ड, सेयर तथा बन्ड बजारलाई समेट्नेछ भने अर्को ऐनले धितोपत्र बोर्डको नियामकीय भूमिकालाई थप बलियो बनाउनेछ ।

नेप्सेको स्वामित्व विविधीकरण र पुनर्संरचनाका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिको प्रतिवेदन प्राप्त भइसकेको उल्लेख गर्दै अध्यक्ष भट्टले प्रविधि, जोखिम व्यवस्थापन र कारोबार प्रणालीको आधुनिकीकरणका लागि आवश्यक नियामकीय निर्देशन चाँडै जारी गरिने बताए ।

नेप्सेलाई थप प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय स्टक एक्सचेन्जसँग रणनीतिक साझेदारीको व्यवस्था अघि बढाइने उनको भनाइ छ ।

यसैगरी, लामो समयदेखि प्रतीक्षामा रहेको मार्जिन लेन्डिङलाई आगामी असोजभित्रै कार्यान्वयनमा ल्याउने गरी स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (एसओपी) तयार गरिने उनले बताए ।

मार्जिन लेन्डिङ कार्यान्वयनमा आएपछि ब्रोकर, सीडीएससी, नेप्से र बैंकका सूचना प्रविधि प्रणाली एकअर्कासँग जोडिनेछन् । यसबाट ग्राहकले ब्रोकरबाट ऋण सीमा प्राप्त गरेपछि बैंकमार्फत रकम परिचालन गर्न सहज हुने बोर्डको अपेक्षा छ । नेपाल राष्ट्र बैंकसँगको समन्वयमा लगानीकर्तालाई कल मनी रेटमा आधारित सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने संयन्त्र विकास भइरहेको पनि अध्यक्ष भट्टले बताए ।

ब्रोकर व्यवसायलाई संस्थागत र व्यावसायिक बनाउन मर्जर तथा एक्विजिसनलाई प्रोत्साहन गरिने उनले जानकारी दिए । परम्परागत रूपमा सीमित सेवामा केन्द्रित ब्रोकर व्यवसायलाई बहुसेवामुखी र कर्पोरेट शैलीमा विकास गर्न नयाँ नीति ल्याइने उनको भनाइ छ ।

बजारमा लगानीकर्ताले बजार घट्दा पनि अवसर पाउने वातावरण निर्माण गर्न चालु आर्थिक वर्षको अन्त्यसम्ममा सर्ट सेलिङ, इन्ट्रा-डे ट्रेडिङ, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) तथा सेक्युरिटी लेन्डिङ एन्ड बोरोइङजस्ता वित्तीय उपकरण कार्यान्वयनमा ल्याउने लक्ष्य रहेको उनले बताए ।

कमोडिटी एक्सचेन्ज सञ्चालनको तयारीबारे बोल्दै अध्यक्ष भट्टले नेपालको कृषि उत्पादनमा आधारित कमोडिटी बजारलाई पहिलो प्राथमिकता दिइने स्पष्ट पारे । कृषिजन्य वस्तुको कारोबार व्यवस्थित गर्दा उत्पादकत्व र रोजगारी वृद्धि गर्न सहयोग पुग्ने बोर्डको विश्वास रहेको उनले बताए ।

धितोपत्र बोर्ड, नेप्से र ब्रोकर व्यवसायबीच सहकार्यबाट मात्रै पुँजी बजारको सुधार तथा प्रविधिको विकास सम्भव हुने उल्लेख गर्दै अध्यक्ष भट्टले आवश्यक नीतिगत सहयोग गर्न बोर्ड तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp