Banking Khabar
Heading1

सञ्चालनमा आएन माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना

August 31, 2021
सेयर:

काठमाडौं– बाढी पहिराले क्षति पुर्‍याएको साढे २ महीना हुँदासमेत माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना (५० मेगावाट) सञ्चालनमा आउन सकेको छैन। गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेका आयोजनाको संरचना अझै निर्माण नहुँदा विद्युत् उत्पादन हुन नसकेको हो।

बाढीका कारण आयोजनाका दुईवटै टर्वाइनलगायतका संरचनामा क्षति पुगेको छ। अन्य संरचना निर्माण भइरहेको छ। यी दुवै टबाईन नै नयाँ राख्नुपर्ने भएकाले विदेशबाट ल्याउने प्रक्रियामा रहेको र अझै विद्युत् उत्पादन गर्न करीब ३ महीना लाग्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए।

उनका अनुसार उक्त बाढीले आयोजनाको बाँधस्थलदेखि पावर हाउस र ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ। यस ११ केभीका १० खम्बा बगाएको थियो भने ३० ढालेको थियो। यतिबेला खम्बा राख्ने तथा मर्मत गरिएको आयोजनाले बताएको छ।

यसरी बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति बनाएपछि विद्युत् उत्पादन हुन नसक्दा दैनिक करीब १ करोड रुपैयाँको हाराहारीमा नोक्सान भइरहेको आयोजना जनसम्पर्क अधिकृत अधिकारीको भनाइ छ।

आयोजनाका अनुसार बिजुली उत्पादन नहुँदा हालसम्म ७५ करोड रुपैयाँभन्दा बढी नोक्सान भइसकेको छ। बिजुली उत्पादन गर्न अझै ३ महीना लागेमा करीब १ अर्ब रुपैयाँ नोक्सान हुने बताइएको छ।