चिलिमे त्रिशूली प्रसारण लाइनको ७४ प्रतिशत काम सकियो

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

रसुवा – चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ७४ प्रतिशत काम सकिएको छ ।

आयोजनाका अनुसार सबस्टेसनतर्फ ५० र प्रसारण लाइन निर्माणतर्फ ४५ प्रतिशत काम सकिएको छ । आयोजनामा निर्माण हुने ७९ वटा टावरमध्ये चार वटा निर्माण सम्पन्न भएको छ । ३१ वटाको फाउण्डेसन निर्माण भएको आयोजनाले जनाएको छ । यस्तै सबस्टेसनतर्फ कन्ट्रोल रुम बिल्डिङ, प्रोटेक्सन लगायतको काम भइरहेको छ ।

२०७८ चैतसम्ममा निर्माण सकिने गरी आयोजनाले काम गरिरहेको आयोजना प्रमुख सुभारम्भ विक्रम शाहले बताउनुभयो । अबको ६ महिनामा काम सम्पन्न गर्ने लक्ष्य रहे पनि कामले तीव्रता पाएको छैन ।

‘कामलाई गति नदिएका कारण हामीले यसपटक ठेकेदारलाई कारबाही पनि गरेका छौँ’, उहाँले भन्नुभयो, ‘चैतसम्ममा काम सम्पन्न गर्नका लागि ठेकेदारलाई निर्देशन दिएका छौँ।’ यस पटक बर्खाको बेलामा पहिरोका कारण प्रसारण लाइनतर्फ क्षति गरेको थियो । खनिएको फाउण्डेसन पहिरोले क्षति गरेको उहाँले बताउनुभयो ।

२०७४ साल पुस ५ देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाको २०७६ साल जेठ ३० मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो । भौगोलिक विकटता, सडकको पहुँच नपुगेको, डिजाइनमा धेरै समय लागेको, सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणमा ढिलाइ, वैदेशिक सहायता पर्खनुपर्ने, जग्गा सट्टा, रुख कटानका लागि समयमै अनुमति नपाउनु लगायतका कारणले ढिलाइ भएको आयोजनाले जनाएको छ ।

रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्रसारण लाइन निर्माण गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७४ कार्तिक २७ मा ठेक्का सम्झौता भएको थियो ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा रहेकाे गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेकाे त्रिशूली थ्री बी हबसम्म प्रसारण लाइन निर्माण हुने छ । प्रसारण लाइनको दूरी साढे २७ किलोमिटर रहेको छ ।

गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्री बीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुनेछ । गोल्जुङदेखि थ्री बी हबसम्म ७९ वटा टावर रहने बताइएको छ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्ल्यूकाे अनुदान तथा युरोपियन इन्भेष्टमेन्ट बैंकको ऋण लगानी छ । प्रसारण लाइन निर्माणपश्चात जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन जलविद्युतको विद्युत् जोडिने छ।

यो प्रसारण लाइनमा २१६ मेगावाटको माथिल्लो त्रिशूली एक, १२० मेगावाटको रसुवा भोटेकोशी, १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको साञ्जेन खोला, ४२.५ मेगावाटको साञ्जेन, २० मेगावाटको लाङटाङखोला, १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ।

यो प्रसारण लाइनमा ५ सय मेगावाट विद्युत् जडान गर्न सकिने छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp