निरन्तर उकालो लाग्दै डलर भाउ
नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.४१ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत मंगलबार (वैशाख २७ मा) १ सय २३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो ।
करिब ३ महिनाअघिसम्म डलर उकालो लाग्ने दरमा केही कमी आए पनि केही दिनयता पुनः उकालो लाग्न थालेको छ । गत असारको तुलनामा चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो । पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब १९ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्वबजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको जानकारहरू बताउँछन् ।
तर पछिल्ला केही महिनायता विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरू बताउँछन् । पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।
मंगलबार साँझसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ७७.५० छ । असोज १७ (अक्टोबर ३) मा यस्तो दर भारु ७४.१४ थियो । खासगरी कोभिडपछि भारतीय अर्थतन्त्र पनि अपेक्षित रूपमा सुधार हुन सकेको छैन । यही कारण अमेरिकी डलरको तुलनामा भारु कमजोर बन्दै गएको हो । त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो । डलर बलियो बन्दा नेपाललाई सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा हुन्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् ।
डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ । यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सकिन्छ । तर, अहिले पर्यटक बढ्ने र निर्यात बढाउने सम्भावना पनि छैन ।
सम्बन्धित खबर
मध्यभोटेकोशीको आईपीओमा मागभन्दा चार गुणा बढी आवेदन
१९ मंसिर २०८२, बिहीबार
जीवन बीमा कम्पनीको लगानी सात खर्ब ५७ अर्ब पुग्यो
१९ मंसिर २०८२, बिहीबार
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले माग्यो कर्मचारी
१९ मंसिर २०८२, बिहीबार
