१० अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले साउन १७ गते १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ । यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । जुुन आगामी माघ १७ परिपक्व हुनेछ ।
यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।