राष्ट्र बैंकको कडाइपछि २१ अर्बले घट्यो आयत

८ जेष्ठ २०७९, आईतवार ०७:०२

नेपाल राष्ट्र बैंकको कडाइपछि आयत घटेको छ । गएको वैशाखमा कुल आयात १ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको हो । पछिल्लो महिनाको तुलनामा यो २१ अर्ब रुपैयाँ कम हो । चालु आर्थिक वर्ष आयात १ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँसम्म पुगेको थियो । गत माघमा घटेर १ खर्ब ४८ अर्ब १२ करोडमा आएको थियो ।

राष्ट्र बैंकले पुसमा केही वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा शतप्रतिशतसम्म मार्जिन लाउने व्यवस्था गरेपछि माघमा आयात केही कम भएको थियो । तर एक बैंकबाट ऋण लिएर अर्को बैंकबाट एसली खुल्न थालेपछि फागनबाट आयात थप चुलिएर १ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको थियो । चैतमा पनि त्यस्तै प्रवृत्ति देखिएपछि राष्ट्र बैंकले केही वस्तुको आयातमा थप कडाइ गरेको थियो ।

राष्ट्र बैंकले मौखिक रुपमा बैंकहरुलाई ३०० भन्दा बढी वस्तुको आयात नगर्न निर्देशन दिएको थियो । त्यसपछि सरकारले १० वस्तुको आयात चालु वर्षकै लागि बन्द ग¥यो । यसले गर्दा आयात वैशाखमा घटेको हो । वैशाखसम्म कुल आयात १६ खर्ब ४ अर्ब पुगेको छ ।

विशेष गरी यस पटक एमएस बिलेट, गहुँ, मोटरसाइकल, चिनी, डीएपी मल, सिमेन्ट क्लिंकर, स्वास्थ्य उपकरण, हातहतियार, सीआर सीट र धानको आयात घटेको छ । यी आयात हुने मुख्य १० वस्तु हुन् । यस्तै डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको आयात बढेको छ। यसबाहेक कच्चा पाम तेल, भ्याक्सिन, शुद्ध फलाम, एचआर सीट र भटमासको तेलको आयात पनि घटेको छ ।

निर्यात व्यापारमा पनि सुधार भएको छ । निर्यात एक खर्ब ७३ अर्ब पुग्ने र आयात केही कम हुँदा व्यापार घाटा १४ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । निर्यात गत वर्षको भन्दा ५९.८ प्रतिशतले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *