Banking Khabar
कला र साहित्य

द भ्वाइस अफ नेपाल सिजन ३ को विजेता बने किरण गजमेर

August 8, 2021
सेयर:

२४ साउन, काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ को विजेता किरण गजमेर बनेका छन् । शनिबार राति हिमालय टेलिभिजनबाट प्रशारित भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका हुन् ।

गजमेरले भ्वाइस अफ नेपाल सिजन ३ विजेता भएसगैं २५ लाख रुपैयाँ पाएका छन्। उनले विजेताका रुपमा वर्ल्ड टुरको पनि मौका पनि पाएका छन्।

टिम प्रमोदबाट फाइनल पुगेका किरण गजमेर अमेरिकामा बस्दै आएका छन्। उनी भ्वाइसमा सहभागी हुनकै लागि नेपाल आएका थिए। उनले सेमिफाइनलमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका थिए।

टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी थिइन । उनको काठमाडौका सोनाम शेर्पासँग कडा प्रतिस्पर्धा भएको थियो ।

दीपको टिमबाट बुटवलका गोविन्द पुनलाई पछि पार्दै दार्जिलिङका आर्यन अन्तिम चारमा पुगेका थिए। भ्वाइसमा ‘कान्छा छोरा’ का रुपमा परिचित आर्यनले ‘जेठा छोरा’ गोविन्दलाई भोटिङमा पछि पारेका थिए।

टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै भोजपुरका ज्वाला राई फाइनलमा प्रवेश गरेका थिए । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय गर्नुका साथै बिजेता छनोट गरिएको हो ।

सिजन(१ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन(२ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए।