लघुवित्तविरुद्ध आन्दोलनका नाममा चन्दा असुली

९ चैत्र २०७९, बिहीबार ०८:३८

पछिल्लो समय लघुवित्तविरुद्ध आन्दोलन चर्किन थालेको छ । लघुवित्तहरूले शोषण गरेको भन्दै ऋणीहरू यतिखेर आन्दोलनमा छन् । संघर्ष समितिले नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर जस्ता ५ बुँदे माग राखेर आन्दोलन गरिरहेका छन् ।

यता लघुवित्त विरुद्ध आन्दोलन गर्न खर्च जुटाउनुपर्ने भन्दै संघर्ष समितिले ’पीडित’बाटै पैसा असुली गर्ने गरेको भेटिएको छ । लघुवित्त वित्तीय संस्थाबाट लिएको ब्याज र साँवा मिनाहा गराइदिने प्रलोभन देखाउँदै संघर्ष समितिका नाममा सदस्यताका लागि भनेर ’पीडित’बाटै चन्दा असुली गर्न थालेको प्रमाण भेटिएको हो ।

लघुवित्त संस्था विरुद्धको संघर्ष समितिको रसिदमा हरेक सदस्यबाट ५ सय रुपैयाँका दरले चन्दा असुली गरेको देखिन्छ । केही महिनायता धेरै स्थानमा यसरी चन्दा उठाउने प्रवृत्ति बढ्दै गएको पाइएको छ । कपिलवस्तु चन्द्रौटा ६ का मणिराम कोरीले आन्दोलनका लागि भन्दै आफ्नो गाउँबाट ५÷५ सय रुपैयाँ असुल गरिएको बताए ।

उक्त समूहले रसिद नै काटेर चन्दा असुली गरिरहेको र संघर्ष समितिको सदस्य प्रमाणपत्र तथा परिचय पत्र पनि वितरण गरिरहेको छ । वित्तीय संस्था विरुद्ध अराजक गतिविधिमा नलाग्न र संस्थाहरुले निर्देशित सीमा भन्दा बढी ब्याज असुली गरे उजुरी गर्न राष्ट्र बैंकले चेतनामुलक सन्देश जारी गरेको छ । तर, गाउँगाउँमा भने आन्दोलनका लागि भन्दै पीडितबाट चन्दा उठाउने समूह सक्रिय रुपमा लागेको छ । लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीबाट १५ प्रतिशतभन्दा बढी ब्याजदर असुली गरे उजुरी गर्न राष्ट्र बैंकले आम सर्वसाधारणलाई आग्रह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *