बैंकिङ प्रणालीको अतिरिक्त तरलतालाई उत्पादनमा लगाउनुपर्ने : मनोज ज्ञवाली

Uncategorized BusinessSarokar | २९ मंसिर २०८२, आइतबार

काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने बताएका छन्।

उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि त्यसअनुसार कर्जाको माग बढ्न नसकेको अवस्थामा उक्त रकमलाई उत्पादन, लगानी र रोजगारी सिर्जना हुने क्षेत्रमा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन्।

ज्ञवालीका अनुसार बैंकिङ क्षेत्रमा न्यून कर्जा माग अहिलेको प्रमुख चुनौतीमध्ये एक हो। उत्पादनशील क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकमा तरलता थुप्रिने र त्यसले अर्थतन्त्रमा अपेक्षित गति दिन नसक्ने अवस्था देखिएको उनको धारणा छ।

उनले बैंकिङ प्रणालीको तरलतालाई उत्पादनमूलक गतिविधिसँग जोड्न निजी क्षेत्रको मनोबल बढाउने, लगानीको वातावरण सुधार गर्ने तथा नीतिगत स्थिरता कायम गर्नुपर्ने बताए।

बैंकिङ प्रणालीमा रहेको स्रोतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा समेत सकारात्मक योगदान पुग्ने उनको भनाइ छ।

ज्ञवालीले यसअघि पनि बजेट कार्यान्वयन, निजी क्षेत्रको मनोबल, कर्जा माग तथा लगानीको वातावरण सुधारलाई अर्थतन्त्रको गति बढाउने प्रमुख आधारका रूपमा औँल्याउँदै आएका छन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp