१२ असोज, काठमाडौं । नारायणी नदीको पुलमुनि अड्किएको राइनो क्रुज सिप हटाउने काम आज बिहानदेखि पुनः सुरु गरिएको छ। प्राविधिक टोलीले बिहान १० बजेसम्म सुरक्षित रूपमा क्रुज सिप निकाल्ने लक्ष्यसहित तयारी अघि बढाएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पुलको पिल्लरमा न्यूनतम क्षति पुग्ने गरी क्रुज सिप हटाउने प्रयास भइरहेको छ। क्रुज सिप निकाल्न क्रेन प्रयोग गरिनेछ। क्रेनलाई घटनास्थलसम्म पुर्याउन दुईवटा एक्स्काभेटर प्रयोग गरी हिजो रातिसम्म बाटो निर्माण गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख तथा इन्जिनियरहरूको टोली बिहानैदेखि उद्धार तथा व्यवस्थापनमा खटिएको छ।
क्रुज सिप निकाल्न दुई विकल्प
क्रुज सिप हटाउन दुईवटा विकल्पमा तयारी भइरहेको छ। पहिलो विकल्पमा सिंगै क्रुज सिपलाई तानेर पुलबाट अलग गर्ने र दोस्रो विकल्पमा क्रुज सिपलाई काटेर टुक्रा–टुक्रा बनाई निकाल्ने योजना रहेको प्रजिअ अर्यालले बताए।
करिब ६० टन भार रहेको क्रुज सिपभित्र पानीसमेत भरिएको र नारायणी नदीको तीव्र बहावको दबाब रहेकाले प्राविधिक पक्षलाई ध्यान दिएर काम अघि बढाइएको उनको भनाइ छ।
भारी सवारीबाहेकका गाडी चल्न थाले
पूर्वी नवलपरासीको गैँडाकोट क्षेत्रमा रुखमा बाँधिएको राइनो क्रुज सिप नारायणी नदीको बाढीले बगाएर पुलको पिल्लरमा अड्किएको थियो। क्रुज सिप पुलमा अड्किएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलमा सवारी आवागमन रोकिएको थियो।
प्राविधिकहरूको सुझावअनुसार आज बिहानदेखि अत्यधिक भार भएका सवारीबाहेक अन्य गाडीलाई नियन्त्रित रूपमा सञ्चालन गर्न दिइएको छ। पुलमा भारी सवारी साधन दोहोरो रूपमा आवतजावत नगर्ने गरी व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ।