कर जरिबानामा थिचिएका करदातालाई राहत दिन सरकारको बोल्ड निर्णय : वाग्ले

Heading3 BusinessSarokar | २८ माघ २०८२, मङ्गलबार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर जरिबाना र विवादका कारण लामो समयदेखि समस्यामा परेका करदातालाई सरकारले ल्याएको विशेष स्किमको लाभ लिन आग्रह गरेका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले ठूलो साहसका साथ करसम्बन्धी स्किम ल्याए पनि त्यसको पर्याप्त प्रचारप्रसार हुन नसकेको गुनासो गरे ।

सरकारले इमानदारीपूर्वक खर्बौं रुपैयाँ बराबरका कर विवाद समाधान गर्ने उद्देश्यले यस्तो व्यवस्था ल्याएको उल्लेख गर्दै उनले भने, ‘हामीमा इमान नभएसम्म सरकारले यति बोल्ड निर्णय गर्नै सक्दैन । खर्बौंको विवाद सल्ट्याउन यो ठूलो अवसर हो ।’

मन्त्री वाग्लेले मुलुकमा लगानीका पर्याप्त अवसर रहेको बताउँदै अनुकूल वातावरण हुँदाहुँदै पनि लगानी गर्न नसक्ने निजी क्षेत्रमाथि समेत प्रश्न उठ्ने बताए ।

उनले विभिन्न प्रतिकूलताका बाबजुद कात्तिकसम्म भन्सारतर्फको राजस्व लक्ष्य पूरा भएको जानकारी दिए । चालु आर्थिक वर्षका लागि सरकारले महत्वाकांक्षी राजस्व लक्ष्य राखेको भन्दै उनले सुशासनका माध्यमबाट लक्ष्य हासिल गर्ने दाबी गरे ।

राजस्व प्रशासनले इमानदार करदातालाई अनावश्यक दुःख दिन नहुनेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै मन्त्री वाग्लेले आफू स्वयं फिल्डमा खटिएर काम गर्ने बताए ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp