भाटभटेनीलाई विशेष सम्मान, राजबहादुर शाह र सूर्य नेपाल उत्कृष्ट करदाता घोषित
काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्।
यस वर्ष सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरेको छ। प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिँदै राजस्वमा योगदान पुर्याउनुका साथै रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै कम्पनीलाई सम्मान गरिएको हो।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो। उक्त घटनाबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको थियो।
ठूलो क्षति व्यहोर्नुपरे पनि कम्पनीले कुनै कर्मचारीको रोजगारी नखोसिएको र पुनः लगानीमार्फत आफ्ना लगभग सबै स्टोर सञ्चालनमा ल्याइसकेको जनाएको छ।
यसैगरी, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्। संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ।
हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदै आएको छ। यस अवसरमा सरकारले राजस्व संकलनमा योगदान पुर्याउने उत्कृष्ट करदाता तथा संस्थालाई विभिन्न विधामा सम्मान गर्दै आएको छ।
