आयल निगमलाई करको भार, रजस्वमा मात्रै १०% योगदान

३२ श्रावण २०७८, सोमबार ०५:२८

 

साउन ३१, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले संकलन गरेको कुल राजस्वमा करिब १०.३५ प्रतिशत बराबरको योगदान नेपाल आयल निगमको रहेको छ । नेपालको कुल राजस्वमा सबैभन्दा बढि योगदान नेपाल आयल निगमको रहेको छ ।

पुर्ण सरकारी स्वामित्वमा रहेको निगमले गत आर्थिक वर्षमा सरकारलाई ९७ अर्ब २० करोड ४१ लाख रुपैयाँ बराबर कर तिरेको छ । गतवर्ष सरकारको कुल संकलन ९ खर्ब ३८ अर्ब ३२ करोड २३ लाख रुपैयाँ रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकबाट देखिन्छ ।

नेपालले सबैभन्दा ठूलो परिमाणमा आयात गर्ने पेट्रोलियम पदार्थले व्यापार घाटाको ग्राफ बढाएको मात्र नभई राजस्व योगदानमा पनि प्रभुत्व जमाउँदै गएको देखिएको छ । गत आर्थिक वर्ष आन्तरिक र भन्सार राजस्वसमेतको सरकारको कुल राजस्व असुलीमा आयल निगमको मात्र १०.३५ प्रतिशत बराबर हिस्सा देखिन्छ । यसबाट नेपालको आयस्रोत भन्सार राजस्व र त्यसमा पनि पेट्रोलियम आश्रित बन्दै गएको बुझ्न सकिन्छ ।

पेट्रोलियम पदार्थ महँगो हुँदा यातायात, ढुवानी र विभिन्न औद्यागिक वस्तुको उत्पादन लागत पनि बढ्ने भएकाले यसबाट मूल्यवृद्धि सिर्जना हुन्छ । आयल निगमले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई बुझाएको कर हालसम्मकै उच्च हो । वर्षभरिमा १ खर्ब ६० अर्ब रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरेको निगमले भन्सार, मुल्यअभिवृद्धि, आयकर, पूर्वाधार कर र प्रदुषण करलगायत विभिन्न शीर्षकमा सरकारलाई ९७ अर्ब २० करोड बढी राजस्व तिरेको देखिन्छ ।

निगमले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मात्रै ३० अर्ब ३२ करोड रुपैयाँ भन्दा बढी कर सरकारलाई तिरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds