Banking Khabar
राष्ट्रिय

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा

August 28, 2021
सेयर:

१२ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए। आयोजनाबाट उत्पादित विद्युत् दसैंअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ।

सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको बताइएको छ। जुगल गाउँपालिका-३ स्थित पाङरपु र लिदी नजिक बाँध बाधेर चार हजार ५०० मिटर सुरुङबाट वडा नं २ को वैकुण्ठेमा निर्माण गरिएको विद्युत्गृहमा पानी खसालिनेछ। आयोजनाबाट उत्पादित विद्युत् २२ किलोमिटर प्रसारणलाइनबाट लामोसाँधुस्थित सबस्टेसनमा आबद्ध गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ।

२०७२ मा सुरु गरिएको उक्त अयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि बाढीपहिरो तथा कोभिड(१९ सङ्क्रमणजस्ता प्राकृतिक प्रकोपका कारण समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ।