अफगानिस्तानलाई दिने भनिएको सहायता रकम तत्काल उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

Heading3 BusinessSarokar | २७ मंसिर २०८२, शुक्रबार

काठमाडौं–  संयुक्त राष्ट्रसंघले विदेशी दातृनिकायलाई अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए।

ती देशहरुले कम्तीमा १ अर्ब २ करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने जनाएका थिए। संयुक्त राष्ट्रसंघले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन भनेको छ।

संयुक्त राष्ट्रसंघका तर्फबाट मंगलबार महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले सो रकम उपलब्ध गराउन आग्रह गरेका हुन्।अफगानिस्तानको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ। हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएका थिए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp