अध्यागमन विभागले दिन थाल्यो अनअराइभल भिसा

Heading3 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– अध्यागमन विभागले बिहीबारदेखि पर्यटक अनअराइभल भिसा दिन सुरु गरेको छ। विभाग अन्तर्गतका नौ वटा प्रवेश तथा प्रस्थान बिन्दु (अध्यागमन कार्यालय)बाट पर्यटकलाई आगमन पश्चात दिने अनअराइभल भिसा दिन सुरु गरिएको प्रवक्ता झंकनाथ ढकालले जानकारी दिए।

कोरोना महामारीका कारण २०७८ जेठ ६ गतेदेखि विभागले यस्तो भिसा दिन बन्द गरेको थियो। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भिसा खुला गर्ने निर्णय गरेसँगै विभागले बिहीबारदेखि सेवा पुनः सुरु गरेको उनले बताए।

यस अघिसम्म विभागले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले सम्बन्धित देशबाट भिसा लगाएपछि मात्र स्वास्थ्य मापदण्ड पूरा गरी प्रवेश दिँदै आएको थियो। नेपालीमूलका विदेशी नागरिक र बिरामी, बालबालिकालगायतलाई प्रवेश गर्दा पूर्ण डोज खोप लगाएको हुनुपर्ने प्रवेश गर्दा पिसिआर जाँच गरी कोरोना नेगेटिभ भएपछि १० दिनको क्वारेन्टिन बस्ने गरी प्रवेश दिने गरेको थिए।

विभागले हवाई उडानबाट नेपाल प्रवेश गर्नेको लागि अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत आवश्यक ब्यवस्था मिलाउने र अन्य नाकाबाट नेपाल प्रवेश गर्ने बिदेशीको हकमा सीमा क्षेत्रमा स्थापित अध्यागमन कार्यालयले पर्यटक भिसा जारी गर्ने ब्यवस्था मिलाउने विभागले जनाएको छ। भिसा दिन सुरु गरेसँगै पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकका लागि सहज हुने पर्यटन व्यवसायीको भनाइ छ।

भिसाका लागि विभागको वेबसाइटबाट अनलाइन फारम (पर्यटक भिसा) भर्नुपर्ने जनाएको छ। एक पटक भरेको फारमले १५ दिनसम्म मात्र काम गर्ने र भिसाका लागि तोकिएको दस्तुर बैंकमा बुझाउन सकिने जनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp