Banking Khabar
Heading1

अमेरिकी सरकारी ऋण ४० ट्रिलियन डलर पुग्यो, ब्याज भुक्तानीमै १ ट्रिलियनभन्दा बढी

August 20, 2026
सेयर:

४ भदौ, काठमाडौं । विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको संघीय सरकारी ऋण ४० ट्रिलियन डलर पुगेको छ । अमेरिकी ट्रेजरी विभागका अनुसार मंगलबार अमेरिकी सरकारको कुल ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघेको हो ।

अमेरिकाको सरकारी ऋण पछिल्ला वर्षमा अपेक्षा गरिएभन्दा तीव्र गतिमा बढिरहेको छ । ऋणको आकार बढ्दै जाँदा त्यसमा तिर्नुपर्ने ब्याजको भारसमेत बढिरहेको छ । आर्थिक अवस्था तुलनात्मक रूपमा बलियो रहेका बेला पनि सरकारी ऋण निरन्तर बढेपछि अर्थशास्त्री तथा बजेट विज्ञहरूले दीर्घकालीन वित्तीय जोखिमप्रति चिन्ता व्यक्त गरेका छन् ।

पिटर जी. पिटरसन फाउन्डेसनका प्रमुख कार्यकारी माइकल पिटरसनका अनुसार यही गतिमा ऋण बढिरहे अबको करिब ६ वर्षमा अमेरिकी सरकारी ऋण ५० ट्रिलियन डलर पुग्न सक्छ ।

‘१० वर्षभन्दा कम समयअघि मात्रै ऋण २० ट्रिलियन डलर थियो । अहिले ४० ट्रिलियन पुगेको छ,’ उनले भनेका छन्, ‘यसले अमेरिकी अर्थतन्त्र र देशको भविष्यलाई जोखिममा पारिरहेको छ ।’

सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा बढ्दो खर्च

अमेरिकी सरकारी ऋण बढ्नुका प्रमुख कारणमध्ये सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा बढ्दो सरकारी खर्च पनि हो । अमेरिकामा ‘बेबी बुमर’ पुस्ता अवकाशमा जाने क्रम तीव्र छ । जनसंख्याको औसत आयु बढ्दै जाँदा सामाजिक सुरक्षा तथा मेडिकेयर कार्यक्रममाथिको सरकारी दायित्व पनि बढिरहेको छ ।

यी कार्यक्रमलाई धान्न आवश्यक श्रमशक्ति र करदाताको संख्या भने सोही अनुपातमा बढ्न नसक्दा सरकारमाथि दीर्घकालीन वित्तीय दबाब थपिएको छ ।

पछिल्ला दशकमा अमेरिकी कंग्रेसले कर कटौतीसँगै विभिन्न सरकारी खर्चका कार्यक्रमसमेत अघि बढाएको छ । सन् २०१७ को ‘ट्याक्स कट्स एन्ड जब्स एक्ट’ तथा कोरोना महामारीका क्रममा डोनाल्ड ट्रम्प र जो बाइडेन प्रशासनले ल्याएका राहत प्याकेजले पनि सरकारी ऋण बढाउन योगदान गरेका छन् ।

अमेरिकी सरकारी ऋण ४० ट्रिलियन डलर पुग्नु केही वर्षअघिको प्रक्षेपणभन्दा निकै छिटो हो । सन् २०२३ मा कंग्रेसनल बजेट अफिस (सीबीओ) ले संघीय ऋण सन् २०२८ को वित्तीय वर्षमा ४० ट्रिलियन डलर पुग्ने अनुमान गरेको थियो ।

तर पछिल्लो पाँच महिनामै अमेरिकी सरकारी ऋण १ ट्रिलियन डलरले बढेको छ । सरकारको खर्च आम्दानीभन्दा बढी हुँदा बजेट घाटासमेत बढिरहेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा अमेरिकी बजेट घाटा १.८ ट्रिलियन डलर पुगेको छ ।

ब्याज भुक्तानीमै १ ट्रिलियन डलरभन्दा बढी

सरकारी ऋण बढ्नुका साथै ब्याजदर उच्च रहँदा अमेरिकाको ऋण सेवा लागत पनि तीव्र रूपमा बढेको छ ।

कोरोना महामारीपछि बढेको महँगी नियन्त्रण गर्न फेडरल रिजर्भले ब्याजदर बढाएपछि अमेरिकी सरकारका लागि नयाँ ऋण लिन तथा पुरानो ऋण नवीकरण गर्न महँगो भएको हो ।

चालु आर्थिक वर्षमा अमेरिकी सरकारले सरकारी ऋणको ब्याज तिर्न मात्रै १ ट्रिलियन डलरभन्दा बढी खर्च गर्ने अनुमान गरिएको छ । यो अहिलेसम्मकै उच्च रकम हो ।

‘कमिटी फर अ रेस्पोन्सिबल फेडरल बजेट’का वरिष्ठ नीति निर्देशक मार्क गोल्डवाइनका अनुसार पछिल्ला पाँच वर्षमा अमेरिकी सरकारको ऋण ब्याज खर्च तीन गुणाभन्दा बढी बढेको छ ।

ब्याज भुक्तानी अहिले मेडिकेयर कार्यक्रमको खर्चसँग लगभग बराबरीमा पुगेको छ भने सामाजिक सुरक्षापछि दोस्रो ठूलो संघीय खर्चका रूपमा ब्याज भुक्तानी देखिन थालेको छ ।

अमेरिकाले ऋणको ब्याज तिर्न रक्षा बजेटमा भन्दा बढी रकम खर्च गरिरहेको छ । बालबालिकासम्बन्धी कार्यक्रमको खर्चभन्दा ब्याज भुक्तानी करिब ५० प्रतिशत बढी रहेको गोल्डवाइनले बताएका छन् ।

बन्ड बजारमा बढ्दो दबाब

अमेरिकी सरकारी ऋण बढ्दै जाँदा त्यसको प्रभाव बन्ड बजारमा समेत देखिन थालेको छ ।

मंगलबार ३० वर्षे अमेरिकी ट्रेजरी बन्डको प्रतिफल सन् २००७ यताकै उच्च स्तरमा पुगेको छ । १० वर्षे ट्रेजरीको प्रतिफल पनि राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयताकै उच्च स्तरनजिक पुगेको छ ।

सरकारी घाटा बढ्नु, सरकारी तथा कर्पोरेट बन्डको आपूर्ति बढ्नु, महँगीप्रतिको चिन्ता र फेडरल रिजर्भको आगामी ब्याजदर नीतिबारे अनिश्चितताले बन्ड प्रतिफलमा दबाब बढाएको छ ।

सरकारी ऋणको जोखिम बढेको ठान्दा लगानीकर्ताले सरकारलाई ऋण दिँदा बढी प्रतिफल माग गर्छन् । त्यसले सरकारी ऋणको लागत थप बढाउँछ र ऋणको चक्र झन् गहिरिन सक्छ ।

अमेरिकी १० वर्षे ट्रेजरीको प्रतिफल घर कर्जा, सवारीसाधन ऋण तथा व्यवसायिक कर्जाको ब्याजदर निर्धारणमा समेत महत्वपूर्ण आधार मानिन्छ । त्यसैले ट्रेजरी प्रतिफल बढ्दा सर्वसाधारण र व्यवसाय दुवैका लागि ऋण महँगो हुन सक्छ ।

‘४० ट्रिलियन डलरको ऋण सरकारको लेखा प्रणालीमा मात्र सीमित छैन । यसको प्रभाव अन्ततः अर्थतन्त्र र आम नागरिकको खल्तीमा पुग्छ,’ कमिटी फर अ रेस्पोन्सिबल फेडरल बजेटकी अध्यक्ष माया म्याकगिनिसले भनेकी छन् ।

अमेरिकी ट्रेजरी विभागले आगामी महिनाहरूमा दीर्घकालीन सरकारी बन्डको ‘बाइब्याक’ बढाउने घोषणा गरेको छ । विश्लेषकहरूले यसलाई बढ्दो बन्ड प्रतिफल र ऋणको लागतप्रति सरकारको चासोका रूपमा हेरेका छन् ।

यसअघि अगस्टको सुरुवातमा भएको ३० वर्षे अमेरिकी ट्रेजरी बन्डको लिलामीमा प्रतिफल सन् २००१ यताकै उच्च पुगेको थियो । यसले लगानीकर्ताले अमेरिकी सरकारी ऋण राख्न थप प्रतिफल माग गरिरहेको संकेत गरेको छ ।

सन् २०२५ मा मुडिजले अमेरिकी ऋणको रेटिङ घटाएपछि अमेरिकाले आफ्नो अन्तिम ‘परफेक्ट क्रेडिट रेटिङ’ गुमाएको थियो । यद्यपि अमेरिकी सरकारी ऋण अझै पनि विश्वका प्रमुख विकसित अर्थतन्त्रमध्ये सबैभन्दा ठूलो ऋण बोझमध्ये एक हो ।

अमेरिकामात्र होइन, बेलायत, फ्रान्स, जर्मनी र जापानजस्ता विकसित अर्थतन्त्र पनि बढ्दो सरकारी खर्च, बजेट घाटा र ऋणका कारण दबाबमा छन् । ती देशका सरकारी बन्डको प्रतिफलसमेत पछिल्ला वर्षमा बहुवर्षीय उच्च स्तरनजिक पुगेको छ ।