आजदेखि सुधारिँदै मौसम
काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेको हप्ता दिन नबित्दै मनसुन नै सम्झाउनेगरी भारी वर्षा सुरु भयो। गत असोज २५ गते महाशाखाले मनसुन सकिएको घोषणा गरेको थियो। मनसुन सकिएको घोषणा गरेको छैटौं दिन भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ।
निरन्तर चार दिनसम्मको भारी वर्षाले भित्र्याउन ठिक्क पारेको धानबाली डुबाउनुका साथै धेरै कृषकको धानबाली बगाएको छ। दशैं मनाइरहेको अवस्थामा भारी वर्षा हुँदा सुदूरपश्चिम, लुम्बिनी, प्रदेश १, बागमती प्रदेश लगायतका १९ जिल्ला धेरै प्रभावित भएका छन्। अझै गृह मन्त्रालयले जनधनको क्षतिको विस्तृत तथ्याङ्क ल्याउन सकेको छैन।
गत आइतबारदेखि सुरु भएको भारी वर्षा आज (बिहीबार)देखि भने सुधार हुने मौसम पूर्वानुमान माशाखाका मौसमविद् वरुण पौडेलले बताए। ‘मौसममा आजदेखि सुधार भइसकेको छ। लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा आज सामान्य वर्षा हुने सम्भावना देखिन्छ,’ पौडेलले भने, ‘पश्चिम नेपालबाट मौसममा सुधार हुँदै आएकाले बिहीबारदेखि मौसममा सुधार भइ देशका धेरै स्थानमा घाम लाग्ने सम्भावना छ।’
मनसुन सकिएपछि ’पोस्ट मनसुन’ सुरु हुने भएकाले यस्तो खालको भारी वर्षा एकाध वर्ष बिराएर हुने गरेको पौडेलको भनाइ छ। यसअघि पनि सन् २०१४ मा ’पोस्ट मनसुन’ हुदहुद आँधी आउँदा यस्तै वर्षा भएको उनले स्मरण गराए। अहिले भएको भारी वर्षालाई पनि पोस्ट मनसुनमा हुने वर्षाको रुपमा लिनुपर्ने मौसमविद् पौडेल बताउँछन्।
तर, वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले जलवायु परिवर्तनसँगै ग्लोबल फेनोमेनामा आएको परिवर्तनले भारी वर्षा भएको बताए। ‘मौसममा प्रि–मनसुन, मनसुन, पोस्ट मनसुन गरी तीन फेज हुन्छ। अहिले भएको मनसुन सकिएपछि पोस्ट मनसुनमा वर्षा भयो। यस्तो एकाध वर्षमा भारी वर्षा हुनेगर्छ,’ शाक्यले भने, ’विदेशमा पनि यस्तो अप्रत्यासित खालको भारी वर्षा हुने गरेको छ। नेपालमा पनि यस्तो भयो।’
विश्वव्यापी रुपमा आएको जलवायु परिवर्तनले यस्तो अतिवृष्टि तथा अनावृष्टि हुने गरेको शाक्यले बताए। यस्तो अवस्थामा मौसमको पूर्वानुमानलाई ध्यान दिएर सतर्कता अपनाएमा ठूलो जनधनको क्षति हुनबाट जोगिने उनको भनाइ छ।
