आयातित पेन्टमा ‘काउन्टरभेलिङ’ शुल्क लगाउन उद्योगीको माग

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नेपाल पेन्ट उद्योग संघले स्वदेशी उत्पादनको खपत बढाउन र आयातित पेन्टलाई प्रतिस्थापन गर्न ‘काउन्टरभेलिङ’ शुल्क लगाउन माग गरेको छ । ‘हालसम्म तयारी पेन्टको आयातमा काउन्टरभेलिङ शुल्क छैन, यो शुल्क लगाइयो भने आयातित पेन्टको मूल्य बढ्न गई स्वदेशी पेन्टको खपत बढ्नेछ,’ संघका अध्यक्ष विश्वप्रकाश साँखले भने, ‘यो शुल्क सरकारले लगाउने हो । अधिकतम १० प्रतिशत लगाउन सकिन्छ ।’

पेन्ट बनाउन प्रयोग गरिने अत्यावश्यक कच्चा पदार्थमा भन्सार विभागले अधिकतम शुल्क लिइरहेको समेत उनले बताए । ‘पेन्टका लागि आवश्यक कच्चा पदार्थको आयातमा पनि उद्योगहरुले तयारी उत्पादन बराबरको एचएसएन कोडअनुसार नै भन्सार शुल्क तिर्नु पर्छ,’ उनले भने, ‘जसले गर्दा भन्सारमा कच्चा पदार्थ अड्किएको छ ।’

स्वदेशी पेन्टले नै माग धान्न सक्ने दाबी गर्दै संघले आयातितलाई प्रतिस्थापन गरी कच्चा पदार्थमा सहुलियत दिनु पर्ने माग गरेको छ । पानीमा आधारित पेन्ट तयार गर्न प्रयोग गरिने ‘एक्रिलिक पोलिमर’को आयातमा सरकारले तोकेको कर बजारमुखी नरहेको संघले जनाएको छ । ‘इमल्सन एचएसएन कोड ३९.०६ अन्तर्गत वर्गिकृत गरिएको पानीमा आधारित पेन्टहरुका लागि कच्चा पदार्थ भएपनि ‘एक्रिलिक पोलिमर’लाई फिनिस्ड गुड, पेन्ट एण्ड भार्निसका लागि तोकिएको कोड ३२.०९ अन्तर्गत राखिएको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘एचएसएन ३९.०६ अन्तर्गत आयातमा १० प्रतिशत मात्र तिर्नुपर्ने र एक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सुविधा पाइन्छ, तर ३२.०९ कोड अन्तर्गत भन्सार मूल्यांकन गर्दा ३० प्रतिशत भन्सार शुल्क तिर्नु पर्छ ।’ साफ्टामा कच्चा पदार्थको लागि सुविधा भएपनि तयारी उत्पादनको लागि भने केही प्रावधान नरहेको संघले जनाएको छ ।

यस्तै वित्तीय ऐन ०७७/०७८ ले टाइटानियम डाइअक्साइडको आयात १५ प्रतिशतलाई घटाएर ५ प्रतिशत गरेको छ । तर पेन्ट उद्योगले टाइटानियम डाइअक्साइडलाई एचएसएन कोड ३२०६११०० मा आयात गर्ने हुनाले कोड सच्याउन पनि संघको माग छ । आयातित तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा एक तह कम भन्सार शुल्क निर्धारण गर्ने सरकारको नीति छ । यद्यपि ह्वाइट सिमेन्टलगायत कतिपय कच्चा पदार्थ र प्याकेजिङ सामाग्रीहरुको हकमा यो नीति लागू नगरिएको संघको गुनासो छ । करार उत्पादन गर्ने/गराउने प्रावधानको लागि पनि नीतिगत सुधार गर्नुपर्ने संघले जनाएको छ । स्वदेशमा अहिले ५० भन्दा बढी पेन्ट उद्योग छन् ।

सरकारले ३२.०९ कोड अन्तर्गत भित्रिने इमल्सनको भन्सार २० प्रतिशतमा झारेपनि पेन्टमा आवश्यक पर्ने प्रमुख कच्चा पदार्थमा भन्सार शुल्क १० देखि २० प्रतिशत छ । जबकि छिमेकी मुलुक भारत, बंगलादेश, श्रीलकंमा ० देखि १० प्रतिशत मात्र रहेको संघको भनाइ छ । संघका अनुसार कच्चा पदार्थ आयात महँगो पर्ने हुँदा तयारी स्वदेशी पेन्टलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन छ । आगामी वर्षको बजेटमा आयातित पेन्टमा कडाइ गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने नीति सरकारले बनाउनेपर्ने संघको सुझाव छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp