विकास काठमाडौं शहरमा मात्रै भयो, अर्थमन्त्री

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् ।

उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताएका हुन् । उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ शहर निर्माण गर्नुपर्ने पनि बताए । उनले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन ओटा ठूला शहरको निर्माण गर्नुपर्ने औंल्याए ।

‘काठमाडौं शहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम गर्‍यो भने त्यहाँ शहर बन्दो रहेछ’, उनले भने, ‘नेपालका यस्ता तीन ओटा ठाउँ खोजेर अगाडि बढायौं भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टिकरण गरेर गर्नुपर्नेमा जोड दिए । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई भने । त्यस्तै जलविद्युत् क्षेत्रमा तीन ओटा ठूला जलविद्युत् आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए । ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा ध्यान दिनुहोस्’, उनले भने ।

त्यस्तै उनले काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यायाता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याए । यसका लागि अध्ययन गर्न समेत उनले निर्देशन दिए। ‘काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रूत गतिमा पुग्ने हुनुपर्‍यो’, उनले भने, ‘यो योजना तपाईँहरूको विशिष्टिकृत योजनामा हुनु पर्‍ यो ।’

बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव मधु कुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp