मौद्रिक नीति सकारात्मक रहे पनि कार्यान्वयन भने चुनौतीपूर्ण हुन सक्ने – सिबिफिन
चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले नेपालको अर्थतन्त्र असहज बनिरहेको वर्तमान अवस्थालाई सहज बनाउन, आर्थिक एवं वित्तीय स्थिरता कायम गर्न र खस्किदो अर्थतन्त्रलाई लयमा फर्काउनका लागि समय सान्दर्भिक नीतिहरु अवलम्बन गरेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले धारणा राखेको छ ।
उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्यका साथ जारी भएको मौद्रिक नीति समग्रमा सकारात्मक रहेको सीफीफीएनले जनाएको छ । यद्दपि, वर्तमान अर्थव्यवस्थाको सुधारका लागि कसिलो बनाइएको मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र अवलम्बन गरेका कतिपय व्यवस्थाहरुको कार्यान्वयन भने चुनौतिपूर्ण हुने सीबीफीएनले ठहर गरेको छ ।
बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको वर्गीकरण गरी उत्पादनशील क्षेत्र र व्यापारमा जाने कर्जामा फरक ब्याजदर कायम गरिने, उत्पादनमूलक क्षेत्रको विकास एवं कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराइने विषय मौद्रिक नीतिमा समेटिएकोप्रति सीबीफीएनले आभार व्यक्त गरेको छ ।