जापानी भाषा र सिप परीक्षा उत्तीर्ण गरेका नेपाली छिट्टै जापान जान पाउने
जापानी भाषा र सिप परीक्षा उत्तीर्ण गरेका ८५० जना नेपाली नागरिक छिट्टै जापान जान पाउने भएका छन् । बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानी भाषा र सिप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई एसएसडब्ल्यू प्रणालीमार्फत जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
नेपालीलाई रोजगारीका लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्न एक कार्यसमिति बनेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानून मन्त्रालयका हिमालचन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा.थानेश्वर भुसाल सदस्य छन् । त्यस्तै जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा एक कार्यसमिति बनेको छ । कार्यसमितिको आज (बिहीबार) बस्ने बैठकमा बृहत् छलफल गरिनेछ । बैठकले मन्त्रालयलाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने बताइएको छ ।
यसअघि सन् २०१९ मार्चमा एसएसडब्ल्यू प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच श्रम समझदारी भएको थियो । सो प्रणाली अन्तर्गत जापानका १४ ओटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीका लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको हो ।