बैंकिङ क्षेत्रको सुरक्षाका लागि सहजीकरण गर्दै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का पदाधिकारीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेका छन् । गभर्नरकै कार्यकक्षमा भएको भेटघाटका क्रममा सिबिफिनका पदाधिकारीले पछिल्लो समय बैंकिङ क्षेत्रमाथि भइरहेको आक्रमणका घटनाका विषयमा छलफल भएको थियो ।
बैंकिङ सेवालाई नेपाल सरकारले आवश्यक सेवा क्षेत्रको रुपमा परिभाषित गरी राजपत्रमा प्रकाशित गरिसकेकाले यो क्षेत्र निर्वाधरुपमा संचालन हुने वातावरण बनाउन र सुरक्षा बन्दोबस्तीका लागि सम्बन्धित निकायसमक्ष आवश्यक सहजीकरण भइरहेको गभर्नर अधिकारीले बताए । बैंकिङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलताप्रति आफू गम्भीर रहेको उनको भनाइ छ ।बैंकहरूले पनि जोखिमपूर्ण देखिएका कर्जाप्रति सावधानी अपनाइ आवश्यक कार्य अगाडि बढाउनुपर्नेमा गभर्नरले जोड दिए ।
बैंकिङ क्षेत्रमा हाल देखिएका कतिपय समस्या प्रणालीसँग जोडिएकोले प्रणालीगत सुधारमै जोड दिनुपर्ने उनको भनाइ छ । हालको विषम् परिस्थितिलाई मध्यनजर गर्दै आम जनजीविका र उद्यम–व्यवसायलाई सामान्यीकरण बनाउँदै अर्थतन्त्र गतिशिल बनाउन सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा उनको जोड छ ।
सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि हुने गरेको सुनियोजित आक्रमणका विषयमा राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । गोल्यानले बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय मात्र नभई अभिभावकीय भूमिमा राष्ट्र बैंकले खेल्नुपर्नेमा जोड दिए ।
पुँजी निर्माण, कर्जा नोक्सानीको व्यवस्था, सेवा शुल्क तथा स्प्रेडदर, संस्थागत आयकर, स्थानीय निकायमा जाने सरकारी निक्षेपको गणना, ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयन, प्रिमियम सम्बन्धी व्यवस्था, कर्जा–निक्षेप अनुपात, आधार दरको गणना लगायतका विषयमा सिबिफिनले गभर्नर अधिकारीलाई विभिन्न सुझाव दिएको छ ।