नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । उनलाई आगामी ३ वर्षका लागि नेप्सेको सीईओ नियुक्त गरेको हो ।

सरकारले विवादका बीच नेप्सेको सिईओमा सानिमा रिलायन्स लाइफका भुपु डेपुटी जनरल म्यानेजर चुडामणि चापागाँईलाई नियुक्त गर्ने निर्णय गरेको छ । झापाका चापागाईंले लामो समय सानिमा बैंकमा समेत काम गरेका थिए ।

नेप्सेको सीईओमा नियुक्त चापागाईले सानिमा रिलायन्स लाइफमा साढे पाँच बर्ष काम गरेर केही समय अघि मात्रै राजिनामा दिएका थिए । त्यसअघि उनले पाथिभरा विकास बैंक, सनराईज बैंक, युनियन लाइफ र सानिमा लाइफ हुँदै सानिमा रिलायन्स लाइफमा काम गरेको अनुभव छ ।

अर्थमन्त्री विष्णु पौडेलले गठन गरेको समितिले सर्टलिस्टेड ५ जनाको चैत ६ गते अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिपछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।सर्टलिष्टमा परेका मध्येबाट यसअघि नारद लुईटेललाई नियुक्त गर्ने निर्णय योग्यता नै नपुगेको तथ्य खुलेपछि प्रमाणिकरण हुन नसकी खारेज भएको थियो ।

समितिले गरेको विज्ञापनमा १० जनाले आवेदन दिएकामा चापागाईं र लुईटेलका अलावा सीडीएस एण्ड क्लियरिङका पूर्वसीईओ पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए ।

तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp