Banking Khabar
Heading3

फेरि पनि घट्यो बेस रेट – कुन बैंकको कतिमा झर्यो ?

April 3, 2025
सेयर:

पछिल्लो १ महिनामै २० वाणिज्य बैंकहरुको औसत आधार दर ०.१४ प्रतिशत विन्दुले घटेको छ ।

चैत महिनाको लागि बैंकहरुको औसत आधार दर ६.४८ प्रतिशत निर्धारण भएको छ । फागुनमा औसत बेस रेट ६.६२ प्रतिशत थियो ।  यो ३ वर्ष यताकै सस्तो बेस रेट हो । पछिल्लो १ वर्षमा मात्रै बैंकहरूको बेसरेट २ प्रतिशत बिन्दुले घटेको छ ।

 

कम बेस रेट हुनेमा कुन बैंक ? 

यो अवधिमा सबैभन्दा कम बेस रेट स्टान्डर्ड चार्टर्ड बैंकको ५.०३ प्रतिशत छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.२८ प्रतिशत र एभरेष्टको ५.४६ प्रतिशत र नेपाल बैंकको ५.९६ प्रतिशत छ । १४ बैंकको आधार दर ७ प्रतिशतभन्दा कम छ ।

अन्य कुनको अवस्था कस्तो ?

त्यस्तै,यो अवधिमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंकको बेसरेट ६ देखि साढे ६ प्रतिशतको बीचमा छ ।

त्यसैगरी, ग्लोबल आईएमई, एनएमबी, सानिमा, माछापुच्छे, सिद्धार्थ, नेपाल एसबीआई, हिमालयन, प्रभु, लक्ष्मी सनराइज, सिटिजन र कुमारी बैंकका बेसरेट ६.५ देखि ७ प्रतिशतभन्दा कम छ ।

सबैभन्दा धेरै बेस रेट हुनेमा एनआइसी एसिया र प्राइम कमर्शियल  बैंक रहेका छन् ।  प्राइम कमर्शियल बैंकको बेस रेट ७ प्रतिशत र एनआइसी एशियाको बेसरेट सबैभन्दा महँगो ७.४१ प्रतिशत छ ।  तुलनात्मक रुपमा यी बैंकबाट ऋण लिँदा केही महँगो पर्छ । विगतमा महँगो निक्षेप उठाएका कारण यी बैंकको बेसरेट घट्न नसकेको हो ।

कुनको कति घट्यो ? 

फागुनको तुलनामा चैत्रमा बैंकहरुको बेस रेट औसतमा १.१५ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै सिटिजन बैंकको बेस रेट ०.३४ प्रतिशतले घटेको छ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको ०.०८ प्रतिशतले घटेको छ । गत महिनाको तुलनामा प्रभु बैंकको बेस रेट भने ०.०६ प्रतिशतले बढेको देखिएको छ ।