ऋण लिन ब्याजदर कहाँ सस्तो ? यस्तो छ बैंकहरुको आधार दरको अवस्था

Heading3 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दर २.०४ प्रतिशत विन्दुले कमी आएको छ। २०८२ सालको असार महिनाका लागि औसत आधार दर ६.१८ प्रतिशत कायम भएको छ, जुन २०८१ सालको असारमा ८.२२ प्रतिशत थियो।

हाल दुई वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा कम रहेको छ। तीमध्ये स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम ४.९० प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको ४.९७ प्रतिशत रहेको छ।

त्यस्तै, ५ वटा वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा कम छ। अर्कोतर्फ, सबैभन्दा उच्च आधार दर रहेको बैंक एनआईसी एशिया बैंक हो, जसको आधार दर ७.२३ प्रतिशत पुगेको छ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि बैंकहरूले लगातार निक्षेपमा दिइने ब्याजदर घटाउने नीति अपनाउँदै आएका छन्। निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधार दरमा पनि गिरावट आएको हो।

उल्लेखनीय कुरा के हो भने, कर्जाको ब्याजदर आधार दरमा प्रिमियम थप गरेर निर्धारण गरिने भएकाले, आधार दर घट्दा कर्जाको ब्याजदर पनि स्वाभाविक रूपमा घट्ने गर्दछ। यसले कर्जाको लागत कम भई कर्जाग्राहीहरूलाई केही राहत मिल्ने अपेक्षा गर्न सकिन्छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp