जेन–जी आन्दोलनमा गोलीकाण्डका अभियोगमा पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं । शान्तिपूर्ण जेन–जी आन्दोलनमा सहभागी युवामाथि गोली प्रहार गर्न आदेश दिएको अभियोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद तथा पूर्वप्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी दर्ता गराएका हुन्।

शाहले दिएको उजुरीमा आन्दोलन दबाउन ओलीले प्रत्यक्ष आदेश दिएको उल्लेख छ। सो घटनामा १७ देखि ४५ वर्ष उमेरका एक दर्जनभन्दा बढी युवाको ज्यान गएको र धेरै घाइते भएको विवरण उजुरीमा समावेश गरिएको छ।

ज्यान गुमाउनेमध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ।

यो मुद्दाले जेन–जी आन्दोलनपछिको राजनीतिक तनावलाई अझ चर्काउने अनुमान गरिएको छ। प्रहरी स्रोतका अनुसार दर्ता भएको उजुरीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp