Banking Khabar
Heading2

नीतिगत अनिश्चितता बढ्दा अर्थतन्त्रदेखि नेप्सेसम्म असर : राष्ट्र बैंक

August 10, 2026
सेयर:

काठमाडौं । राज्यको आर्थिक नीतिमा हुने अन्योलले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्ने तथ्य नेपाल राष्ट्र बैंकको नयाँ अध्ययनले देखाएको छ। अध्ययनअनुसार आर्थिक नीतिगत अनिश्चितता बढ्दै जाँदा आर्थिक वृद्धि सुस्त हुने, निजी क्षेत्रमा कर्जा प्रवाह घट्ने, आयात खुम्चिने र सेयर बजार परिसूचक नेप्सेसमेत प्रभावित हुने देखिएको हो।

राष्ट्र बैंकका कर्मचारी वीरेन्द्रबहादुर बुढा, रोहन व्यञ्जनकार तथा अनुसन्धानकर्ता स्वस्तिक नेपालले तयार पारेको अध्ययनले आर्थिक नीतिमा स्पष्टता र स्थायित्व नहुँदा लगानीकर्ता तथा व्यवसायीको विश्वास कमजोर हुने निष्कर्ष निकालेको छ। यसको प्रत्यक्ष प्रभाव लगानी, व्यवसाय विस्तार र समग्र आर्थिक गतिविधिमा पर्ने अध्ययनले औंल्याएको छ।

अध्ययनका अनुसार नीतिगत अनिश्चितता बढ्दा निजी क्षेत्रले नयाँ लगानी तथा व्यवसाय विस्तारका निर्णय लिन हिच्किचाउने अवस्था सिर्जना हुन्छ। यसले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जाको मागसमेत प्रभावित पार्न सक्छ। कर्जा प्रवाहमा आएको कमीले उत्पादन तथा आर्थिक गतिविधिमा थप दबाब सिर्जना गर्ने अध्ययनको निष्कर्ष छ।

राष्ट्र बैंकले नेपालका लागि आर्थिक नीतिगत अनिश्चितताको सूचकांक निर्माण गर्न जनवरी २०११ देखि अप्रिल २०२६ सम्मको ‘गुगल ट्रेन्ड’बाट प्राप्त रियल–टाइम तथ्यांक विश्लेषण गरेको जनाएको छ। उक्त तथ्यांकका आधारमा तयार गरिएको सूचकांकले नीतिगत अनिश्चितता र अर्थतन्त्रका विभिन्न सूचकबीचको सम्बन्धलाई विश्लेषण गरेको हो।

अध्ययनले नीतिगत स्थिरता र स्पष्टता आर्थिक गतिविधि विस्तारका लागि महत्वपूर्ण हुने देखाएको छ। आर्थिक नीति निर्माण तथा कार्यान्वयनमा बारम्बार हुने परिवर्तन र अस्पष्टताले बजारमा अनिश्चितता बढाउने भएकाले दीर्घकालीन लगानीका लागि विश्वसनीय नीतिगत वातावरण आवश्यक रहेको अध्ययनको निष्कर्ष छ।

नीतिगत अनिश्चितता नियन्त्रण गर्न सरकारले आर्थिक नीतिमा स्थिरता, पारदर्शिता र पूर्वानुमानयोग्य वातावरण निर्माण गर्नुपर्ने अध्ययनले संकेत गरेको छ। यस्तो वातावरणले निजी क्षेत्रको विश्वास बढाउनुका साथै लगानी, कर्जा प्रवाह, आयात तथा पुँजी बजारमा सकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ।